
कुवेतको सरकारी स्वामित्वको पेट्रोलियम कम्पनीले अन्तर्राष्ट्रिय लगानी कम्पनीहरू ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग १६ अर्ब अमेरिकी डलर बराबरको पाइपलाइन पूर्वाधारसम्बन्धी सम्झौता गरेको छ।
कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो सहायक कम्पनीमार्फत अन्तर्राष्ट्रिय कम्पनीहरूको समूहसँग कुवेतको सम्पूर्ण आन्तरिक तथा निर्यातमुखी तेल पाइपलाइन सञ्जाल विस्तारका लागि ठेक्कापट्टा सम्झौता गरिएको जनाएको छ।
इरानसँगको तनाव र ऊर्जा निर्यातका लागि महत्त्वपूर्ण हर्मुज जलसन्धिमा अवरोधको जोखिमबीच खाडीका तेल उत्पादक राष्ट्रहरूले उत्पादन क्षमता विस्तार गरिरहेका बेला यो लगानी आएको हो।
दुई दशकभन्दा बढी अवधिको सम्झौताअन्तर्गत न्यूयोर्कस्थित ब्ल्याकस्टोन, क्यानडाको ब्रुकफिल्ड र अमेरिकी लगानी कम्पनी केकेआरको नेतृत्वमा रहेको कन्सोर्टियमले कुवेतको ३२० किलोमिटर लामो पाइपलाइन सञ्जालमा ४९ प्रतिशत स्वामित्व लिनेछ। बाँकी ५१ प्रतिशत हिस्सा भने कुवेती कम्पनीकै स्वामित्वमा रहनेछ।
कुवेत पेट्रोलियम कर्पोरेसनका प्रमुख कार्यकारी नवाफ साउद अल–सबाहले यो संयुक्त उद्यम कुवेतको इतिहासकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी भएको र देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने बताएका छन्।
उनले तीन बहुराष्ट्रिय कम्पनीको लगानीले कुवेतको ऊर्जा क्षेत्र, केपीसीका सम्पत्ति र सरकारको दीर्घकालीन ऊर्जा रणनीतिप्रतिको अन्तर्राष्ट्रिय विश्वास झल्काएको उल्लेख गरेका छन्।
यस सम्झौताबाट कुवेत आयल कम्पनी (केओसी) ले अग्रिम रूपमा ७.८५ अर्ब अमेरिकी डलर प्राप्त गर्ने अपेक्षा गरिएको छ। कम्पनीले सन् २०३५ सम्म दैनिक कच्चा तेल उत्पादन क्षमता ४० लाख ब्यारेल पुर्याउने लक्ष्य राखेको छ।