
सर्लाहीको मलंगवामा एक युवक प्रेमिकालाई बोलाइदिन माग गर्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका छन् ।
प्रेमिकालाई आफू भएको ठाउँ बोलाइदिनुपर्ने र उनीसँग बिहे गर्न पाउनुपर्ने मागसहित ती युवक टावर चढेपछि सुरक्षा निकायलाई उद्धारमा खटिनुपर्ने अवस्था आएको छ ।
जिल्लाको गोडैता नगरपालिका-९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका-९ स्थित नेपाल टेलिकम कार्यालयको हाताभित्र रहेको ८० मिटर अग्लो टावरमा चढेका हुन् ।
हुसेनले टावरमा चढेपछि आफ्ना एक साथीलाई फोन गरी आफू टावरमाथि रहेको जानकारी दिएका थिए । त्यसपछि घटनाबारे सुरक्षा निकायलाई खबर पुगेको हो ।
सर्लाहीका प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार अहिले प्रहरी र सेनासहितको टोली उद्धारमा खटिएको छ । अफसरले आफ्नी प्रेमिकालाई आफू भएको ठाउँ नबोलाए त्यही टावरबाट हामफाल्ने चेतावनी दिइरहेका छन् ।
‘प्रहरी र सेनाको टोली घटनास्थलमा पुगिसकेको छ । उनलाई सम्झाइ-बुझाइ गरेर सुरक्षित रूपमा उद्धार गर्ने प्रयास भइरहेको छ’, डीएसपी गौतमले बताए ।
अफसर टावरमै छन् भने सुरक्षा निकायले उनलाई तलबाट फोन गरेर सम्झाइ-बुझाइ गरिरहेका छन् ।
उनी सर्लाही क्याम्पसमा बीबीए अध्ययनरत रहेको र सँगै पढ्ने केटी साथीसँग प्रेम सम्बन्ध रहेको भनिएको छ । तर यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।