
भारतले आणविक ऊर्जाको ताप प्रयोग गरेर हाइड्रोजन इन्धन उत्पादन गर्ने विश्वकै पहिलो प्लान्ट सञ्चालनमा ल्याएको छ ।
भारतको परमाणु ऊर्जा विभाग (डीएई)ले हालै तमिलनाडुको कल्पक्कमस्थित इन्दिरा गान्धी आणविक अनुसन्धान केन्द्र (आईजीसीएआर)मा उक्त प्लान्ट उद्घाटन गरेको हो ।
फास्ट ब्रीडर टेस्ट रिएक्टर (एफबीटीआर) बाट प्राप्त ताप प्रयोग गरी तामा–क्लोरिन (कपर–क्लोरिन) आधारित थर्मोकेमिकल प्रक्रियामार्फत हाइड्रोजन उत्पादन गरिनेछ ।
परमाणु ऊर्जा विभागका सचिव तथा भारतको आणविक ऊर्जा आयोगका अध्यक्ष अजितकुमार मोहन्तीले हाइड्रोजनलाई भविष्यको इन्धनका रूपमा लिइएको उल्लेख गर्दै यसले उद्योग, यातायात तथा भावी ऊर्जा प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
हाल विश्वमा अधिकांश हाइड्रोजन प्राकृतिक ग्यासबाट उत्पादन गरिन्छ, जसबाट कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ । पानीलाई विद्युतीय प्रक्रियाबाट फुटाएर हाइड्रोजन उत्पादन गर्ने विधि पनि भए पनि त्यसका लागि ठूलो परिमाणमा विद्युत् आवश्यक पर्छ । नयाँ प्लान्टले भने तापकै माध्यमबाट पानीलाई विभाजन गर्ने भएकाले ऊर्जा बचत हुने र उत्पादन दक्षता बढ्ने दाबी गरिएको छ ।
भाभा आणविक अनुसन्धान केन्द्रले विकास गरेको तामा–क्लोरिन चक्रमा करिब ४०० देखि ५०० डिग्री सेल्सियस तापक्रममा विभिन्न रासायनिक प्रतिक्रियामार्फत हाइड्रोजन उत्पादन गरिन्छ । अन्तिम चरणमा शुरूआती उत्प्रेरक पुनः प्राप्त हुने भएकाले प्रक्रिया निरन्तर दोहोर्याउन सकिन्छ ।
एफबीटीआरबाट प्राप्त उच्च तापक्रम यस प्रक्रियाका लागि उपयुक्त रहेको बताइएको छ । हाल सञ्चालनमा आएको प्लान्ट व्यावसायिक उत्पादनका लागि नभई प्रविधिको परीक्षण तथा सञ्चालनसम्बन्धी तथ्यांक संकलन गर्ने उद्देश्यले निर्माण गरिएको हो ।
मोहन्तीले यो परियोजनाले विद्युत् उत्पादनभन्दा बाहिर पनि आणविक ऊर्जाको उपयोग विस्तार गर्न सकिने सम्भावना देखाएको बताए ।
यद्यपि नेदरल्यान्ड्सस्थित आणविक ऊर्जा विकास कम्पनी यूएलसी इनर्जीका प्रमुख कार्यकारी अधिकृत डिर्क राबेलिंकले उच्च ताप प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्ने प्रविधि सैद्धान्तिक रूपमा आशाजनक भए पनि अझै प्रयोगात्मक चरणमै रहेको बताए ।
उनका अनुसार प्रयोगात्मक रासायनिक प्रक्रिया र उच्च ताप दिने उन्नत रिएक्टर दुवैमा निर्भर भएकाले यसलाई व्यावसायिक रूपमा प्रयोगमा आउन अझै लामो समय लाग्न सक्छ ।