
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको परीक्षा प्रणाली सुधारका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने घोषणा गरेका छन्। यो घोषणा शिक्षा मन्त्रीले राजीनामा दिएको एक दिनपछि आएको हो।
सामाजिक सञ्जालमार्फत सक्रिय कक्रोच जनता पार्टी (सिजेपी) ले राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा हजारौं प्रदर्शनकारी, विशेषगरी विद्यार्थीहरूलाई उतारेको थियो। यो हालका वर्षहरूमा भारतको सबैभन्दा ठूलो सरकारविरोधी प्रदर्शनमध्ये एक बनेको थियो।
प्रधानमन्त्री मोदीले एक्समा भिडियो सन्देश सार्वजनिक गर्दै सरकारले परीक्षा प्रणाली सुधारका लागि ‘उच्च शक्तिसम्पन्न कार्यदल’ गठन गर्ने निर्णय गरेको बताएका छन्। कार्यदलको नेतृत्व भारतीय प्रविधि कम्पनी इन्फोसिसका सह–संस्थापक नन्दन निलेकानीले गर्नेछन्।
परीक्षा अनियमितता र युवासम्बन्धी अन्य समस्याविरुद्ध हप्तौंदेखि जारी आन्दोलन शिक्षा मन्त्रीको राजीनामा र सरकारले आन्दोलनकारीका केही मुख्य माग स्वीकार गरेपछि शनिबार अन्त्य भएको थियो।
आइतबार प्रदर्शनकारीले प्रयोग गरेको क्षेत्रको सरसफाइका लागि दर्जनौं नगरपालिका कर्मचारी परिचालन गरिएको थियो। उनीहरूले केही घण्टाअघि मात्रै प्रदर्शनकारीहरूले विरोध गीत गाएको, नाराबाजी गरेको र भित्तेलेखन गरेको क्षेत्र सफा गरेका थिए।
भिडियो सन्देशमा मोदीले परीक्षा प्रणाली विश्वसनीय, पारदर्शी र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका छन्।
‘सरकार आगामी परीक्षाको विश्वसनीयता सकेसम्म चाँडो सुनिश्चित गर्न काम गर्नेछ,’ उनले भने।