
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले लगानीकर्ताको मनोबल बढाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार पुँजी बजार र धितोपत्र लगानीसँग सम्बन्धित प्रमुख सरोकारवालासँग छलफलमा प्रधानमन्त्री बालेनले लगानीकर्ताको मनोबल बढाउने प्रतिबद्धता जनाएका हुन् ।
छलफलमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष, लगानीकर्ता, ब्रोकर, बीमा कम्पनी तथा अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
पुँजी बजारमा गर्नुपर्ने सुधारका विषयमा छलफल केन्द्रित रहेको लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले बताए । 'पुँजी परिचालन गर्ने क्षेत्र भएकाले रोजगारी पनि सिर्जना हुनुपर्ने र पुँजीबजार चलायमान हुँदै गर्दा अर्थतन्त्रका अन्य क्षेत्रहरू पनि चलायमान हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो,' प्रधानमन्त्री बालेनको भनाइ उद्धृत गर्दै उनले भने ।
यसका साथै पुँजी बजारमा काम गर्ने लगानीकर्ताको मनोबल बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा पनि छलफल भएको पौडेलले बताए । ‘हामीले छलफलमा तीनवटा सेक्टरबाट सुझाव प्रस्तुत गरेका थियौं। एउटा लगानीकर्ताको तर्फबाट, नेप्सेको तर्फबाट र धितोपत्र बोर्डको तर्फबाट सुझाव प्रस्तुत भएको थियो,’ उनले भने ।
सरकारले पुँजी बजारको विकासका लागि छिटोभन्दा छिटो काम गर्नेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ ।