
अमेरिकाले लगातार सातौं रात पनि इरानका सैन्य संरचनामाथि हवाई आक्रमण जारी राखेपछि इरानले शनिबार अमेरिकाका खाडी क्षेत्रका सहयोगी मुलुकमाथि पुनः मिसाइल र ड्रोन आक्रमण गरेको छ । युद्धविराम एक साताअघि भंग भएपछि द्वन्द्व थप चर्किएको हो ।
इरानको आक्रमणबाट कुवेतमा ठूलो क्षति पुगेको छ । त्यहाँको एउटा समुद्री पानी प्रशोधन (डिसालिनेसन) केन्द्रमा प्रहार भएको तथा बारम्बार मिसाइल र ड्रोनको खतरा उत्पन्न भएपछि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनसमेत स्थगित गरिएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले कुवेतस्थित अमेरिकी सैन्य सहयोग केन्द्र ‘क्याम्प अरिफजान’ तथा ‘अली अल सलाम एयर बेस’को राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले बहराइनको शेख इसा एयर बेसमा रहेको अमेरिकी लडाकु विमान केन्द्र तथा एक गुप्तचर डाटा केन्द्रलाई पनि निशाना बनाएको छ ।
त्यस्तै, जोर्डनको अल अज्राकस्थित अमेरिकी सैन्य अड्डामा शनिबार बिहान गरिएको मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा दुई अमेरिकी लडाकु विमान र अन्य तीन वटा विमान ध्वस्त पारिएको दाबी इरानले गरेको छ । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
आईआरजीसीले अन्तर्राष्ट्रिय समुदायले अमेरिकी सैन्य कारबाही रोक्न नसकेकाले आफूहरू ‘जसरी आक्रमण हुन्छ, त्यसरी नै जवाफ दिनुपर्ने’ अवस्थामा पुगेको जनाएको छ । उसले अमेरिकाका क्षेत्रीय सहयोगी मुलुकहरूलाई थप आक्रमणको चेतावनीसमेत दिएको छ ।
यसअघि शुक्रबार अमेरिका र इरानले सामुद्रिक मार्गलाई समेत निशाना बनाएका थिए । अमेरिकाले होर्मुज जलडमरूमा नौसैनिक नाकाबन्दी लागू गरिरहेको जनाएको थियो भने इरानले आफ्ना नियम उल्लङ्घन गरेर आवतजावत गर्ने जहाजमाथि कारबाही गरेको दाबी गरेको थियो ।
द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च स्तरमा पुगेको छ । तेलको मूल्य चार प्रतिशतभन्दा बढीले बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि राजनीतिक दबाब बढेको विश्लेषण गरिएको छ ।
यता, इरानको दक्षिणी शहर जास्कमा विद्युत् तथा समुद्री पानी प्रशोधन केन्द्रमा मिसाइल प्रहार हुँदा २० गाउँका करिब १० हजार बासिन्दा खानेपानीबाट वञ्चित भएका छन् । इरानी समाचार संस्था तस्निमका अनुसार स्थानीय पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।
कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले पनि इरानी आक्रमणबाट आफ्नो विद्युत् उत्पादन तथा पानी प्रशोधन केन्द्रमा क्षति पुगेको पुष्टि गरेको छ । लगातार दुई दिनमा कुवेतका पानी प्रशोधन केन्द्रमाथि भएको यो दोस्रो आक्रमण हो ।
यसैबीच, अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम)ले सातौं दिनको हवाई आक्रमणअन्तर्गत इरानका निगरानी केन्द्र, सैन्य रसद पूर्वाधार, भूमिगत हतियार भण्डार तथा समुद्री सैन्य क्षमतामाथि प्रहार गरिएको जनाएको छ ।