०९ साउन २०८३, शनिबार

फ्रान्स र स्पेनमा भीषण डढेलो: झण्डै डेढ लाख मानिस विस्थापित

साउन ९, २०८३
काठमाडौं
फ्रान्स र स्पेनमा भीषण डढेलो: झण्डै डेढ लाख मानिस विस्थापित

फ्रान्स र स्पेनका विभिन्न जङ्गलमा लागेको भीषण डढेलोका कारण १ लाख ४० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । निरन्तरको सुक्खा, चरम गर्मी र तीव्र हावाका कारण डढेलो अनियन्त्रित रूपमा फैलिरहँदा अग्नि नियन्त्रकहरूलाई आगो निभाउन निकै सकस परिरहेको बीबीसीले जनाएको छ । 

स्पेनको मड्रिड र आविला प्रान्तमा डढेलोले गम्भीर क्षति पुर्‍याएको छ। मड्रिड क्षेत्रमा मात्र ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्, जसमध्ये ३० हजारलाई सुरक्षित स्थानमा सारिएको छ भने २० हजारलाई घरभित्रै बस्न निर्देशन दिइएको समाचारमा उल्लेख छ । 

स्पेनिस अधिकारीहरूले आविलाको बुर्गोहोंडो डढेलो म्याड्रिडको डढेलोसँग मिसिन सक्ने भन्दै उच्च सतर्कतासहित सेनाको आपत्कालीन एकाइ परिचालन गरेका छन्। स्पेनमा करिब १५ हजार हेक्टर जमिन जलिसकेको छ भने भारी मेसिनरीको लापरवाहीपूर्ण प्रयोगका कारण आगो लागेको आशङ्कामा अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ। 

उता दक्षिण-पश्चिम फ्रान्सको जिरोन्ड र लान्ड्स क्षेत्रमा अवस्था झनै भयावह देखिएको छ, जहाँ डढेलोकै कारण १ लाख १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। 

जिरोन्डमा करिब १९ हजार हेक्टर जङ्गल र ८० वटा घर जलेर नष्ट भएका छन्। डढेलोले आफैँलाई ऊर्जा दिँदै दिशा बदलेर बोर्डो सहरतर्फ अघि बढेपछि चर्चित पर्यटकीय गन्तव्य क्याप फेरेटलाई पूर्ण रूपमा खाली गराइएको छ। 

त्यहाँबाट सयौँ मानिसले डुङ्गामार्फत ज्यान जोगाएका छन्। फ्रान्सका गृहमन्त्रीका अनुसार आगो निभाउने क्रममा ५० जना अग्नि नियन्त्रक घाइते भइसकेका छन्। राष्ट्रपति इमानुएल म्याक्रोंले अवस्था निकै तनावपूर्ण रहेको बताउँदै युरोपेली संघसँग सहायताको अपील गरेका छन्।

युरोपेली संघले फ्रान्स र स्पेन दुवै देशलाई सघाउन हेलिकप्टर र विमानहरू परिचालन गरेको छ। विश्वव्यापी औसतभन्दा दोब्बर छिटो तातिरहेको युरोपमा जलवायु परिवर्तन, लामो खडेरी र चरम गर्मी (हिटवेभ) का कारण यस वर्ष जङ्गलहरूमा ओसको मात्रा घटेको छ। यसैका कारण डढेलोले भयानक रूप लिएको र विगत दुई दशककै सबैभन्दा धेरै वन क्षेत्र जलेको युरोपेली वातावरण एजेन्सीहरूले जनाएका छन्।

salt training

कमेन्ट गर्नुहोस्