०४ साउन २०८३, सोमबार

प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको सकुशल उद्धार

साउन ३, २०८३
सर्लाही
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको सकुशल उद्धार

सर्लाहीको सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेर प्रेमिकालाई बोलाइदिन माग गरेका एक युवकको करिब सवा तीन घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको छ ।

गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका थिए । 

टावरमा पुगेपछि उनले आफ्ना साथीमार्फत आफू माथि रहेको जानकारी गराएका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

सर्लाहीका प्रहरी प्रमुख, एसपी रविन्द्रनाथ पौडेलका अनुसार बिहान ५:३० बजे घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भई उद्धार अभियान शुरू गरेको थियो ।

मानसिक तनावमा रहेका हुसेनलाई परिवारका सदस्य तथा सुरक्षाकर्मीले निरन्तर सम्झाइ–बुझाइ गरेपछि उनी बिहान करिब ८:५० बजे सकुशल टावरबाट तल झरेका हुन् । 

उद्धारपछि उनलाई आवश्यक मनोचिकित्सकीय उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको एसपी पौडेलले जानकारी दिए ।

घटनाका कारण केही समय नेपाल टेलिकम कार्यालय परिसरमा स्थानीयवासीको भीड लागेको थियो । सुरक्षाकर्मीको संयमता, परिवारको सहयोग र निरन्तरको प्रयासपछि कुनै अप्रिय घटना हुन नदिई युवकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्