
बेतलबी अध्ययन बिदा सकिएपछि पनि लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेका कम्प्युटर अधिकृत दिनेश महर्जनलाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
यसअघि महर्जनले पेश गरेको सफाइ चित्तबुझ्दो नभएपछि मन्त्रालयले पुनः सार्वजनिक सूचना जारी गर्दै कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार नेपाल विविध सेवातर्फ राजपत्रांकित तृतीय श्रेणीका कम्प्युटर अधिकृत दिनेश महर्जन (क.स.नं. १९११८६६) मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत छन् ।
उनी बेतलबी अध्ययन बिदा स्वीकृत गराई अध्ययनमा गएकोमा बिदाको अवधि सकिएपछि पनि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई अनुपस्थित रहँदै आएका थिए ।
बिदा सकिएपछि पनि विना सूचना तथा विना अनुमति यसरी लगातार कार्यालयमा अनुपस्थित रहनु निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (ज) बमोजिमको कसुर मानिन्छ ।
यसअघिको सफाइ सन्तोषजनक भएन
मन्त्रालयका अनुसार महर्जनलाई यसअघि निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम गत असार १३ गते सफाइ पेश गर्न पहिलोपटक सूचना प्रकाशन गरिएको थियो ।
उक्त सूचनाको म्यादभित्र महर्जनले मन्त्रालयमा सफाइ त पेश गरेका थिए, तर उनको जवाफ चित्तबुझ्दो र सन्तोषजनक नभएको मन्त्रालयले जनाएको छ ।
३० दिनभित्र स्पष्टीकरण नबुझाए सेवाबाट हटाइने
पहिलोपटकको सफाइ सन्तोषजनक नभएपछि मन्त्रालयले पुनः ३० दिनभित्र स्पष्टीकरण पेश गर्न दोस्रोपटक म्याद दिएको हो ।
मन्त्रालयले भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने सजाय किन नगर्ने भनी उनीसँग लिखित जवाफ मागेको हो ।
तोकिएको ३० दिनभित्र सन्तोषजनक स्पष्टीकरण पेश नगरेमा महर्जनलाई ऐनअनुसार विभागीय सजाय गरी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ ।
हेर्नुहोस्, स्पष्टीकरण :
