
फिफा विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्ड र अर्जेन्टिनाबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको छ।
एटलान्टा स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको सुरुवाती ४५ मिनेटमा दुवै टोलीबाट एउटै पनि सटिक प्रहार हुन सकेन । तर खेलको सुरुवातदेखि नै मैदानमा निकै तनावपूर्ण वातावरण देखिएको थियो।
इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलले जेद स्पेन्सलाई टोलीमा समावेश गरे भने उनले पहिलो हाफमा रक्षात्मक र आक्रामक दुवै पक्षमा आफूलाई प्रमाणित गरे।
यद्यपि, अर्जेन्टिनी खेलाडीहरूले बारम्बार फउलको सहारा लिएर इंग्ल्याण्डको खेलको लयलाई अवरुद्ध पार्ने प्रयास गरिरहे । पहिलो हाफमा कुल दुईवटा पहेँलो कार्ड देखाइयो। खेलको ३८औँ मिनेटमा लियोनल मेस्सीलाई फउल गरेपछि इंग्ल्याण्डका इलियट एन्डरसनलाई खेलको पहिलो पहेँलो कार्ड दिइयो। त्यसको केही मिनेटपछि अर्जेन्टिनाका इन्जो फर्नान्डेजले बक्स बाहिरबाट गरेको एक सशक्त प्रहार पोस्टको निकै नजिकबाट बाहिरिएको थियो, जुन अर्जेन्टिनाका लागि गोल गर्ने सबैभन्दा नजिकको अवसर बन्यो ।
अर्कोतर्फ, ४१औँ मिनेटमा इंग्ल्याण्डका मोर्गन रोजर्सको जर्सी तानेर लडाएपछि अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजले पनि पहेँलो कार्डको सामना गर्नु पर्यो।
सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने सपना बुनिरहेको इंग्ल्याण्डका लागि डेक्लान राइसको पुनरागमनले राहत दिएको छ। उनी मैदानमा पूर्ण रूपमा फिट र सक्रिय देखिएका छन्। यद्यपि, अर्जेन्टिनाको कडा दबाब र रणनीतिक फउलका कारण इंग्ल्याण्डले अग्रता लिने अवसर सिर्जना गर्न सकेन।
यो खेलको विजेताले न्युयोर्कमा हुने फाइनलमा स्पेनको सामना गर्नेछ।