१० साउन २०८३, आइतबार

अर्जेन्टिना बराबरीमा रोकियो, १० खेलाडीमा सीमित स्वीस टोलीले खेल अतिरिक्त समयमा धकेल्यो

असार २८, २०८३
काठमाडौं
अर्जेन्टिना बराबरीमा रोकियो, १० खेलाडीमा सीमित स्वीस टोलीले खेल अतिरिक्त समयमा धकेल्यो

 फिफा विश्वकप २०२६ को अन्तिम क्वाटरफाइनल खेल निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा सकिएपछि अब अतिरिक्त समयमा धकेलिएको छ। 

कान्सास सिटी स्टेडियममा भएको निकै तनावपूर्ण र रोमाञ्चक खेलमा १० खेलाडीमा सीमित स्विजरल्याण्डले साविक विजेता अर्जेन्टिनालाई रोक्न सफल भएपछि खेल थप ३० मिनेटको समयमा प्रवेश गरेको हो।

निर्धारित ९० मिनेटपछि थपिएको ९ मिनेटको इन्जुरी समय निकै नाटकीय रह्यो। खेलको अन्तिम क्षणमा अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजले प्रहार गरेको सुन्दर 'बाइसिकल किक'लाई स्विजरल्याण्डका गोलकिपर ग्रेगोर कोबेलले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमै राखे। त्यसअघि कप्तान लियोनेल मेस्सीले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार पोस्टको केही नजिकबाट बाहिरिएको थियो भने एलेक्सिस म्याक एलिस्टरले पनि गोल गर्ने सहज अवसर गुमाएका थिए।

खेलको १० औं मिनेटमा म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ६७ औं मिनेटमा स्विजरल्याण्डका डान एनडोएले सानदार गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरी गोल गरेको केही मिनेटमै (७२ औं मिनेटमा) स्विजरल्याण्डका मुख्य स्ट्राइकर ब्रेएल एम्बोलोले 'डाइभ' गरेको भन्दै दोस्रो पहेँलो कार्ड (रातो कार्ड) पाएपछि स्वीस टोली संकटमा परेको थियो।

१० खेलाडीमा झरेपछि स्विजरल्याण्डले निकै रक्षात्मक रणनीति अपनाएको छ। टोलीले आफ्ना सबै खेलाडीलाई रक्षापंक्तिमा राखेर अर्जेन्टिनाको लगातारको आक्रमणलाई निस्तेज पारिरहेको छ। अर्जेन्टिनाले खेलको १० औं मिनेटपछि पहिलो पटक इन्जुरी समयमा मात्रै पोस्टमाथि सही निशाना प्रहार गर्न सकेको थियो।
अब थप ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसके खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ। यस खेलको विजेताले सेमिफाइनलमा इङ्गल्याण्डको सामना गर्नेछ। 

salt training

कमेन्ट गर्नुहोस्