
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो नियन्त्रणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
शनिबार आफ्नो निर्वाचन क्षेत्र पुगेका मन्त्री पुनले सडकको निरीक्षणपछि चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि संघीय सरकारबाट चार करोड रुपैयाँ विनियोजन भइसकेको उल्लेख गर्दै एक वर्षभित्र समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे।
बेनी–दरबाङ सडकको फापरखेत क्षेत्रमा करिब ३० वर्षदेखि पहिरोको समस्या रहँदै आएको छ। सडकमाथिबाट खस्ने पहिरोका कारण वर्षायाममा सडक अवरुद्ध हुँदा मंगला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दाले आवतजावतमा सास्ती खेप्दै आएका छन्।
मन्त्री पुनले शनिबार नै प्रदेश अस्पतालको निर्माणाधीन भवनको पनि निरीक्षण गरेका थिए। उनले अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था र आवश्यक उपकरण उपलब्ध गराउन सक्दो प्रयास गर्ने बताएका छन्।
यसैगरी, राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने बैसरी पहिरो नियन्त्रणका लागि भइरहेका प्रयासबारे पनि मन्त्री पुनले जानकारी लिएका छन्।