०४ साउन २०८३, सोमबार

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक : जलविद्युत् र प्रसारण लाइन निर्माणलाई तीव्रता दिइने

असार ३१, २०८३
काठमाडौं
नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक : जलविद्युत् र प्रसारण लाइन निर्माणलाई तीव्रता दिइने

नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्य सुदृढ बनाउने उद्देश्यका साथ पोखरामा आयोजना गरिएको ऊर्जा सचिवस्तरीय 'संयुक्त निर्देशक समिति' (जेएससी) को १३औँ बैठक सम्पन्न भएको छ। 

बुधबार सम्पन्न उच्चस्तरीय बैठकमा दुवै देशले जलविद्युत् परियोजनाको विकास, विद्युत् व्यापार र अन्तरदेशीय प्रसारण पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

बैठकको सह–अध्यक्षता नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले गरेका थिए ।

जेएससी बैठकको पूर्वसन्ध्यामा असार ३० गते दुवै देशका सहसचिवस्तरीय 'संयुक्त कार्यदल' (जेडब्ल्युजी) को १३ औँ बैठक समेत पोखरामा बसेको थियो। उक्त बैठकमा नेपालका तर्फबाट सहसचिव सन्दीप कुमार देव र भारतका तर्फबाट सहसचिव पंकज कुमारले नेतृत्व गरेका थिए । 

null

बैठकका क्रममा ४०० केभी गोरखपुर–न्यू बुटवल अन्तरदेशीय प्रसारण लाइनसहित निर्माणाधीन अन्य प्रसारण लाइनहरूको प्रगतिप्रति सन्तोष व्यक्त गरिएको छ। दुवै पक्षले हाल सञ्चालनमा रहेका र परिकल्पना गरिएका विद्युत् उत्पादन तथा प्रसारण आयोजनाहरूको कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्दै कामलाई तीव्रता दिने र सहजीकरण गर्ने उपायहरूबारे गहन छलफल गरेका छन्। 

यसका साथै भारतीय र नेपाली ग्रिडको समन्वयात्मक सञ्चालन गर्ने विषयमा पनि दुई देशबीच महत्वपूर्ण समझदारी भएको छ।

परम्परागत ऊर्जाका अतिरिक्त यस पटकको बैठकमा नयाँ प्रविधि र नवीकरणीय ऊर्जाका क्षेत्रमा पनि छलफल केन्द्रित भएको थियो। सौर्य ऊर्जा परियोजनाहरूको विकास, ग्रीन हाइड्रोजनमा सहकार्य र नेपाली ऊर्जा विज्ञहरूको क्षमता अभिवृद्धि गर्ने जस्ता दीर्घकालीन महत्वका विषयहरूमा दुवै देशले सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।

जेएससीको मुख्य बैठकअघि भारतीय ऊर्जा सचिव पंकज अग्रवालले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेटवार्ता गरेका थिए । सो भेटमा दुई देशबीचको ऊर्जा सम्बन्धलाई थप उचाइमा पुर्‍याउने र क्षेत्रीय ऊर्जा सुरक्षाका लागि मिलेर काम गर्ने विषयमा कुराकानी भएको थियो। 

पोखरामा सम्पन्न यी शृङ्खलाबद्ध छलफलहरूले नेपाल र भारतबीचको ऊर्जा क्षेत्रको सहकार्यलाई थप सुदृढ र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

salt training

कमेन्ट गर्नुहोस्