
नेपाल सरकारका नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार सिंहदरबारमा सचिवहरूको पहिलो बैठक बसेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ९ बजेदेखि करिब एक घण्टा चलेको बैठकमा सरकारको सेवा प्रवाह, सुशासन र विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
बैठकका निर्णय र छलफलका विषयवस्तुबारे जानकारी दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले बैठक मुख्यतः तीनवटा वृहत् क्षेत्रमा केन्द्रित रहेको बताए ।
सेवा प्रवाह, सुशासन र विकास निर्माणलाई थप प्राथमिकताका साथ अघि बढाउँदै सबै मन्त्रालय र मातहतका निकायहरूको दैनिक कार्यसम्पादनलाई चुस्त र दुरुस्त बनाउने निर्णय भएको प्रवक्ता अर्यालले जानकारी दिए ।
हाल बैठकका औपचारिक निर्णयहरूलाई अन्तिम रूप दिने काम भइरहेको उनले बताए ।
पछिल्लो समय कर्मचारी प्रशासनमा त्रास वा असन्तुष्टिको वातावरण रहेको भनी बाहिर आएका विषयमा सोधिएको प्रश्नमा प्रवक्ता अर्यालले त्यस्ता कुराहरूबारे बैठकमा केही पनि गुनासो नआएको बताए ।
बैठकमा कुनै पनि प्रकारको गुनासो वा त्रासको विषय नउठेको उल्लेख गर्दै उनले लोकान्तरसँग भने, ‘त्यस्तो खालको कुनै पनि गुनासो आएको छैन । बरु शासकीय सुधारका कार्यसूचीहरूलाई कसरी थप प्रभावकारी ढंगले अगाडि बढाउने, हालसम्म शुरू हुन नसकेका कामहरूलाई तत्काल थालनी गर्ने र यसअघि भइरहेका राम्रा तथा असल अभ्यासहरूलाई निरन्तरता दिने विषयमा सबै सचिवहरूबीच गहन छलफल भएको छ ।'
एक घण्टासम्म चलेको बैठकमा सबै मन्त्रालय, विभाग, संवैधानिक आयोग तथा सरकारी निकायका सचिवहरूको सहभागिता रहेको थियो ।
मुख्यसचिवका रूपमा गोविन्दबहादुर कार्कीले पदभार सम्हालेपछि सबै सचिवहरू सम्मिलित यो बैठकले शासकीय सुधार र नागरिक सेवा प्रवाहलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ।