३१ असार २०८३, बुधबार

भारतको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रको डेटा लिक

असार ३१, २०८३
काठमाडौं
भारतको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रको डेटा लिक

भारतको तमिलनाडुस्थित कुडनकुलम आणविक ऊर्जा केन्द्रको अति संवेदनशील दस्ताबेजहरू लिक भएको छ । यस घटनाले अन्तर्राष्ट्रिय सुरक्षा वृत्तमा हलचल मच्चाएको समाचारमा उल्लेख छ।

 'वर्ल्ड लिक्स' नामक ह्याकर समूहले यस प्लान्टसँग सम्बन्धित हजारौँ दस्ताबेजहरू डार्क वेबमा सार्वजनिक गरेको दाबी गरेपछि भारतको ऊर्जा सुरक्षा र साइबर प्रतिरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा भएको छ। 

न्यूज एजेन्सी रोयटर्सका अनुसार ह्याकरहरूले प्लान्टको कन्ट्रोल रुमको लेआउट, ब्लुप्रिन्ट, आपूर्तिकर्ता (सप्लायर्स) को सूची र अन्य महत्वपूर्ण प्राविधिक विवरणहरू सार्वजनिक गरेका छन्।
यो घटनाको बीजारोपण गत मे महिनामा भएको देखिए पनि यसको गम्भीरता भने भर्खरै मात्र सतहमा आएको हो। कुडनकुलम प्लान्टको युनिट-३ र युनिट-४ परियोजनामा ठेकेदारका रूपमा काम गरिरहेको अनिल अम्बानी नेतृत्वको रिलायन्स ग्रुपले आफ्नो डेटा भण्डारण गरिएको तेस्रो पक्षीय कम्पनी 'योटा' को सर्भर ह्याक भएको स्वीकार गरेको छ। 

रिलायन्सका अनुसार यो साइबर आक्रमणका बारेमा भारत सरकारलाई आधिकारिक रूपमा जानकारी गराइसकिएको छ।
विवरणअनुसार गत मे २९, २०२६ मा योटाको सर्भरमा शङ्कास्पद गतिविधि देखिएको थियो। सुरुमा साइबर आक्रमण रोकिएको दाबी गरिए पनि जुन महिनाको अन्त्यमा ह्याकर समूहले ८ लाख ५८ हजारभन्दा बढी फाइलहरू चोरी गरेको दाबी गर्दै त्यसमध्ये १९ हजारभन्दा बढी संवेदनशील दस्ताबेजहरू डार्क वेबमा अपलोड गरिदियो। लिक भएका दस्ताबेजहरूमा प्लान्टका विभिन्न हिस्साका नक्सा, निरीक्षण रेकर्ड, बैठकका माइन्युटहरू र सप्लायरहरूका गोप्य विवरणहरू समेत समावेश रहेको बताइएको छ।

परमाणु सुरक्षा विशेषज्ञहरूले यस घटनालाई 'सप्लाई चेन अट्याक'को संज्ञा दिएका छन्। यो यस्तो प्रकारको आक्रमण हो जहाँ ह्याकरहरूले सिधै मुख्य संस्थालाई प्रहार गर्नुको सट्टा त्यससँग जोडिएका साना ठेकेदार वा डेटा सेन्टरलाई निशाना बनाउँछन् । जसका कारण मुख्य लक्ष्यसम्म पुग्न उनीहरूलाई सहज हुन्छ।

 विशेषज्ञहरूका अनुसार यदि सार्वजनिक गरिएका दस्ताबेजहरू वास्तविक हुन् भने कुनै पनि शत्रु राष्ट्र वा समूहले प्लान्टको सुरक्षा कमजोरी, सपोर्ट सिस्टम र प्राविधिक संरचनालाई सजिलै बुझ्न सक्छन्। विशेष गरी कन्ट्रोल रुमको लेआउट सार्वजनिक हुनुले भविष्यमा हुन सक्ने भौतिक वा साइबर आक्रमणको जोखिमलाई कयौँ गुणा बढाइदिएको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्