
स्पेनको दक्षिण-पूर्वी प्रान्त अल्मेरियाको लोस गायार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। यसमा अन्य ६ जना घाइते भएका छन्।
डढेलोको चपेटामा परेका सवारीसाधनभित्र केही मृतक फेला परेका थिए ।
प्रत्यक्षदर्शीहरूका अनुसार विद्युतको लाइन खसेका कारण आगो सल्किएको र हेर्दाहेर्दै उक्त आगो नजिकैको जंगलमा फैलिएको थियो । यद्यपि, अधिकारीहरूले हालसम्म डढेलो लाग्नुको आधिकारिक कारण भने पुष्टि गरिसकेका छैनन्।
करिब ४० डिग्री सेल्सियस तापमानसहित लगातार चलिरहेको लु (हीटवेव) का कारण दक्षिणी युरोपका धेरै क्षेत्रहरूमा डढेलो लागिरहेको छ।
फ्रान्स, पोर्चुगल र स्पेनमा सयौँ अग्निनियन्त्रकहरू ठूला-ठूला डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् भने हजारौँ मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।