
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार सरकारको व्यापक पुनर्गठनको घोषणा गरेका छन्।
उनले प्रधानमन्त्री युलिया स्विरिडेन्कोको प्रतिस्थापन र केही कानुन कार्यान्वयन निकायका प्रमुखलाई हटाउने प्रस्ताव गरेका छन्। जेलेन्स्कीले स्विरिडेन्कोको स्थानमा कसलाई ल्याउने भन्ने जानकारी भने दिएका छैनन् र परिवर्तनको कारण पनि खुलाएका छैनन्।
जेलेन्स्कीले एक्समा लेखेका छन्, “म स्विरिडेन्कोलाई प्रधानमन्त्रीका रूपमा उनको स्पष्ट, स्थिर र प्रभावकारी काम, युक्रेनको टोलीमा वर्षौंको उत्पादक सेवा तथा मुख्य साझेदारसँगको नयाँ र महत्वपूर्ण क्षेत्रको नेतृत्व गर्ने अवसरका लागि प्रस्ताव गरेको छु।”
उनले भनेका छन्, “म आशा गर्दछु, सांसदहरूसँग मिलेर हामी युक्रेन सरकारमा सम्बन्धित परिवर्तन गर्नेछौँ। कानुन कार्यान्वयन निकायका प्रमुखहरूमा पनि परिवर्तन हुनेछ।”
जेलेन्स्कीले गत वर्ष स्विरिडेन्कोलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। एक्समा जारी विज्ञप्तिमा उनले युक्रेनले गर्नुपर्ने केही महत्वपूर्ण कार्य उल्लेख गरेका छन्। तीमध्ये युरोपेली सङ्घमा सामेल हुने प्रक्रियामा प्रगति र सीमा क्षेत्रलाई थप बलियो बनाउने विषय समावेश छन्।
उनले विदेश नीतिका विभिन्न क्षेत्र व्यवस्थापन गर्न फरक–फरक व्यक्तिलाई जिम्मेवारी दिने योजना रहेको पनि बताएका छन्।
“हामीले यी परिवर्तनका लागि मन्त्रिपरिषद्को नवीकरण आवश्यक ठानेका छौँ,” उनले भने।
मन्त्रिपरिषद् पुनर्गठनका लागि संसद्को अनुमति आवश्यक पर्छ। तर रुसको आक्रमणपछि सांसदहरू ठूलो रूपमा जेलेन्स्कीको पक्षमा रहेकाले सामान्यतया उनको एजेन्डालाई रोक्ने गरेका छैनन्।