०२ साउन २०८३, शनिबार

टोरन्टोको सडक महोत्सवमा गोली चल्यो, दुई जनाको मृत्यु

असार २८, २०८३
काठमाडौं
टोरन्टोको सडक महोत्सवमा गोली चल्यो, दुई जनाको मृत्यु

क्यानडाको टोरन्टोमा आयोजित एक सडक महोत्सवमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार शनिबार राति करिब ८:१२ बजे सेन्ट क्लेयर एभिन्यूमा सञ्चालन भइरहेको वार्षिक ‘साल्सा अन सेन्ट क्लेयर’ महोत्सवमा गोली चलेको हो । 

घटनास्थलमा पुगेको प्रहरीले गोली लागेका ६ जना भेटाएको थियो, जसमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।

घटनापछि आयोजित पत्रकार सम्मेलनमा प्रहरीले महोत्सवमा रहेका दुई व्यक्तिबीच गोली हानाहान भएको जनाएको छ । घटनास्थलबाट दुईवटा बन्दुक बरामद गरिएको छ ।

घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म पक्राउ गरिएको छैन । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

टोरन्टो प्रहरीका उपप्रमुख फ्रान्सिस्को बार्रेडोले घटनास्थितिलाई अत्यन्त अव्यवस्थित भएको बताए । उनका अनुसार गोली चल्दा महोत्सवमा करिब १३ हजार मानिस उपस्थित थिए ।

प्रहरीले घटनासँग सम्बन्धित तीनवटा छुट्टाछुट्टै अपराधस्थलको अनुसन्धान गरिरहेको जनाएको छ । थप जानकारी उपलब्ध भएपछि सार्वजनिक गरिने पनि प्रहरीले जनाएको छ ।

घटनापछि सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ । घटनाबारे जानकारी वा प्रत्यक्षदर्शी भएका व्यक्तिलाई प्रहरीसँग सम्पर्क गर्न अपिल गरिएको छ ।

ओन्टारियो प्रान्तका प्रमुख (प्रिमियर) डग फोर्डले महोत्सवमा भएको अर्थहीन हिंसाको निन्दा गर्दै दोषीलाई पक्राउ गरी कानूनअनुसार कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

टोरन्टोको मध्य क्षेत्रमा रहेको सेन्ट क्लेयर एभिन्यूमा हरेक वर्ष आयोजना हुने ‘साल्सा अन सेन्ट क्लेयर’ ल्याटिन महोत्सवमा प्रत्यक्ष सांगीतिक तथा नृत्य प्रस्तुति हुने गर्छ । यस वर्ष उक्त महोत्सवको २२ औं संस्करण आयोजना गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्