३० असार २०८३, मंगलबार

भारतीय अर्बपतिको परोपकारी सोचमा ठूलो परिवर्तन- मन्दिर होइन, अब विज्ञानमा दान

असार २९, २०८३
काठमाडौं
भारतीय अर्बपतिको परोपकारी सोचमा ठूलो परिवर्तन- मन्दिर होइन, अब विज्ञानमा दान

भारतमा परम्परागत रूपमा दान-दक्षिणा भन्नेवित्तिकै मन्दिर र धार्मिक संस्थाहरूलाई प्राथमिकता दिने गरिएकामा हालैका वर्षहरूमा त्यहाँका अर्बपतिहरूको परोपकारी सोचमा ठुलो रूपान्तरण देखिन थालेको छ। देशका ठुला उद्योगी र प्रविधि क्षेत्रका दिग्गजहरूले अब मन्दिरको सट्टा आधारभूत विज्ञान, प्रविधि र अनुसन्धान संस्थानहरूको निर्माणमा करोडौँ डलर लगानी गर्न थालेका हुन् । 

यसको पछिल्लो उदाहरण मुम्बईको लक्जरी रियल एस्टेट समूह 'लोढा ग्रुप' का सीईओ अभिषेक लोढा हुन्। उनले मुम्बईमा 'लोढा थ्योरेटिकल फिजिक्स इन्स्टिच्युट' स्थापना गर्दै आगामी ८ देखि १० वर्षमा यसका लागि १० करोड अमेरिकी डलर खर्च गर्ने घोषणा गरेका छन्। संस्थानको नेतृत्व सन् २०२५ को प्रतिष्ठित 'वुल्फ प्राइज' विजेता भारतीय-अमेरिकी क्वान्टम भौतिकशास्त्री जानेन्द्र जैनले गर्दैछन्।

लोढाजस्तै भारतकै प्रतिष्ठित व्यावसायिक घरानाका उत्तराधिकारी राजीव बजाजले पनि महिला इन्जिनियरिङ विद्यार्थीहरूका लागि देशकै सबैभन्दा ठुलो छात्रवृत्ति कार्यक्रम शुरू गरेका छन्, जसमा प्रतिविद्यार्थी ८ लाख भारुसम्मको सहयोग दिइनेछ।

विज्ञान क्षेत्रमा दान गर्ने यो लहर विशेष गरी भारतको सिलिकन भ्याली मानिने बङ्गलोरका प्रविधि अर्बपतिहरू र फर्मा क्षेत्रका उद्यमीहरूले चलाइरहेको बीबीसीले जनाएको छ । 

अन्य धेरै प्रविधि अर्बपतिहरूले रोबोटिक खगोल विज्ञानदेखि मल्टि-स्पेशालिटी मेडिकल अनुसन्धानसम्मका लागि ठुलो रकम दान गरिरहेका छन्।

किन आवश्यक छ यो परिवर्तन?
विज्ञहरूका अनुसार कुनै पनि देशको दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउन गहिरो वैज्ञानिक आधार आवश्यक हुन्छ। भारतमा प्रतिभाको कमी नभए पनि अत्याधुनिक पूर्वाधारको चरम अभाव छ। हाल भारतले आफ्नो कुल गार्हस्थ्य उत्पादनको मात्र ०.६ देखि ०.७ प्रतिशत हिस्सा अनुसन्धान र विकासमा खर्च गर्छ, जुन चीन, दक्षिण कोरिया र अमेरिकाको तुलनामा निकै कम हो। यसमा पनि निजी क्षेत्रको योगदान मात्र ३६ प्रतिशत छ, जबकि विकसित देशहरूमा यो ७० प्रतिशत भन्दा बढी हुन्छ।

हार्वर्ड, एमआईटी र स्ट्यानफोर्डजस्ता विश्वका महान् शैक्षिक संस्थाहरू परोपकारी दानबाटै बनेका हुन्। 

परोपकार क्षेत्रमा काम गर्ने संस्था 'दाशरा' की सह-संस्थापक नीरा नुन्डीका अनुसार अहिलेका नयाँ पुस्ताका उद्यमीहरू र स्थापित घरानाका युवाहरू बढी प्रविधि-मैत्री, डाटामा आधारित र परिणाममुखी छन्। त्यसैले उनीहरूको ध्यान प्राकृतिक रूपमै विज्ञान र अनुसन्धानतर्फ आकर्षित भएको हो।

दशकौँ अघि टाटा समूहले 'टाटा इन्स्टिच्युट अफ फन्डामेन्टले रिसर्च'जस्ता संस्था बनाएर यस्तो परम्परा शुरू गरे पनि बीचको लामो समयसम्म ठुलो खाडल थियो। आर्थिक वर्ष २०३० सम्ममा भारतीय धनाढ्यहरूबाट थप १४ देखि १५ अर्ब डलर परोपकार क्षेत्रमा आउने अनुमान गरिएको छ। 

अभिषेक लोढा भन्छन्, 'यो एक क्रमिक विकास हो। पहिले समाजलाई गरिबीबाट उठाउन 'सेवाको परोपकार' आवश्यक थियो, अब देशलाई अघि बढाउन स्वाभाविक रूपमा 'उत्कृष्टताको परोपकार' तर्फ ट्रेन्ड सिफ्ट भइरहेको छ।'

salt training

कमेन्ट गर्नुहोस्