
मिडिया लयर्स एशोसिएसननेपालले विभिन्न सञ्चार गृहहरूको प्रवेशद्वारमा सवारी साधन पार्किङ गरी नियमित कार्यसम्पादनमा अवरोध पुर्याइएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार बिहान कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालय टेलिभिजन जस्ता सञ्चार संस्थाहरूको गेटअगाडि नियोजित रूपमा सवारी साधन राखेर कार्यसम्पादनमा बाधा पुर्याउने काम भएको भन्दै एशोसिएसनले यसलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपका रूपमा टिप्पणी गरेको छ ।
एशोसिएसनका अध्यक्ष अधिवक्ता बाबुराम अर्यालद्वारा जारी विज्ञप्तिमा कुनै पनि सञ्चार संस्थाको कार्यालयमा अवरोध सिर्जना गर्नु केवल एउटा संस्थामाथिको आक्रमण मात्र नभई नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकमाथिको प्रत्यक्ष प्रहार भएको उल्लेख छ ।
यस्ता गतिविधिले स्वतन्त्र, निर्भीक र उत्तरदायी पत्रकारितालाई डर, दबाब र त्रासको वातावरणमा धकेल्ने प्रयास गरेको र यो लोकतान्त्रिक मूल्य एवं संवैधानिक शासन व्यवस्थासँग पूर्णतः असंगत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसैगरी, घटनाबारे समयमै जानकारी प्राप्त हुँदाहुँदै पनि नेपाल प्रहरीले आवश्यक सतर्कता, रोकथाम तथा प्रभावकारी व्यवस्थापन गर्न नसकेको भन्दै एशोसिएसनले दुःख र चिन्ता व्यक्त गरेको छ।
घटनास्थलको सीसीटीभी फुटेज, सवारी साधनको विवरण र आवश्यक प्रमाणहरू उपलब्ध हुँदा समेत दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा नल्याइनुले निष्पक्ष अनुसन्धानप्रति गम्भीर प्रश्न र शंका उब्जाएको विज्ञप्तिमा उल्लेख छ। यस विषयमा सम्बन्धित निकायले स्पष्ट जवाफदेहिता प्रदर्शन गर्नुपर्ने समेत विज्ञप्तिमार्फत माग गरिएको छ।
लोकतान्त्रिक समाजमा स्वतन्त्र सञ्चार माध्यममाथि हुने कुनै पनि प्रकारको दबाब, अवरोध वा धम्की अस्वीकार्य हुने भन्दै एशोसिएसनले प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुने अधिकारको आधारभूत पूर्वाधार भएको प्रस्ट पारेको छ।
मिडिया लयर्स एशोसिएसनले उक्त घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई तत्काल कानुन बमोजिम कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ।