०७ साउन २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

विभाजनको बाटोमा कांग्रेस, बर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

साउन ७, २०८३
काठमाडौं
विभाजनको बाटोमा कांग्रेस, बर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौंलगायत विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए ।

पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौंको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो । विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो समय सङ्क्रमण देखिएको छैन ।
००००
नेपाल विद्युत् प्राधिकरणद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१/०८२ र समीक्षा वर्ष २०८२/०८३ को क्रस-बोर्डर विद्युत् आयात-निर्यातको तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको छ।

समीक्षा वर्ष २०८२/०८३ मा भारत तथा बङ्गलादेशतर्फको विद्युत् निर्यातबाट नेपालले कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी हो।
००००
भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग, प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न देशभरका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

विभागले आज ४० जिल्लाका भूमि प्रशासन कार्यालयलाई पत्राचार गर्दै यसअघि पटकपटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएकाले अनुगमन तथा निरीक्षण समितिले स्थलमै पुगेर वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।
००००
अन्तर्राष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ ।

विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा गरेको मतदानको आधारमा मेस्सीले उत्कृष्ट खेलाडी घोषित भएको एआइपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले बताए । जसमा मेस्सीले कुल एक हजार १७९ अङ्क प्राप्त गर्दै फ्रान्सका किलियन एम्बाप्पे (७१७ अङ्क) र इङ्ल्यान्डका जुड बेलिङ्घम (४७० अङ्क) लाई पछि पारेका थिए ।
००००
पर्यटक भिसामा नेपाल आएका ९ जना चिनियाँ नागरिकमाथि अध्यागमन विभागले अनुसन्धान गरिरहेकै बेला अर्को नयाँ तथ्य बाहिर आएको छ ।

ती चिनियाँ नागरिकलाई छुटाइदिने र १५ वटा राहदानी समेत फिर्ता गराउने भन्दै ७२ लाखको मोलमलाइ भएको हो ।
यो मोलमलाइमा सशस्त्र प्रहरीकै पूर्व वरिष्ठ उपरीक्षक (एसएसपी) र चर्चित कलाकारको संलग्नता खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार मात्रै सशस्त्रका पूर्व एसएसपी गोपालबहादुर गुरुङ, कलाकार नारदप्रसाद खतिवडा र बिचौलियाको काम गर्ने विक्रमबहादुर थापालाई पक्राउ गरेको छ ।
००००
नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ ।
बुधबार बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेका हुन् ।

साउन २९ अगावै विशेष महाधिवेशनबाट नेतृत्वमा आएका पार्टी सभापति गगन थापासँग सहमति नभए कांग्रेस विभाजनमा जाने कार्यक्रममा नेताहरूले चेतावनी दिएका थिए ।
००००
कालिकोटको पलाँता गाउँपालिकामा सडक निर्माणका क्रममा सरकारी रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा फेल्केढुङ्गा लेखनवाडा वडा कार्यालय दुर्सी फागोटी सडक निर्माण योजनामा भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर भएको गरिएको हो ।
००००
बैंकिङ कसुरसम्बन्धी मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अग्रवाललाई बुधबार डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो ।
००००
सरकारले अब मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग, क्यासिनो वा जुवाघरजस्ता सट्टेबाजी व्यवसाय र वैदेशिक रोजगार व्यवसायमा सरकारी लगानी गर्न पूर्ण रूपमा रोक लगाउने तयारी गरेको छ ।

तर, धितोपत्र बजारमा पहिले नै सूचीकृत भइसकेका र सरकारको लगानी रहेका त्यस्ता कम्पनीहरूको हकप्रद वा प्राथमिकता प्राप्त शेयर खरिद गर्न पाउने छ ।
००००
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई शुल्क छुट दिने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले २०८५ भदौ मसान्तसम्मका लागि यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क शतप्रतिशत छुट दिने तथा ग्राउण्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ ।
००००
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहका नाममा जारी भएको पक्राउ पुर्जी तत्कालका लागि कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा यस्तो आदेश जारी गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्