
रूसी प्रहरीले सोमबार एक युद्धविरोधी क्रेमलिन आलोचकलाई पक्राउ गरेको छ।
दुई महिनापछि हुने संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको निकट समूहविरुद्ध भाग लिने योजना बनाइरहेका ६३ वर्षीय बोरिस नादेज्दिनलाई सोमबार पक्राउ गरिएको हो।
अप्रत्याशित रूपमा समर्थन जुटाएर पुटिनविरुद्ध राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन खोजेका नादेज्दिनले सन् २०२४ मा विपक्षी नेताका रूपमा चर्चा कमाएका थिए।
छोटो अभियानपछि नै उनलाई उम्मेदवार बन्नबाट रोकिएको थियो।
रूसमा पुटिनको शासन र मस्कोको युक्रेन युद्धको खुल्लमखुल्ला आलोचना गर्ने थोरै व्यक्तिमध्ये उनी एक हुन्, तर उनी जेल वा निर्वासनमा भने जानुपरेको थिएन।
“प्रहरी आएको छ,” नादेज्दिनले पक्राउअघि टेलिग्राममा लेखेका थिए। पछि उनले सन् २०२३ को एउटा भिडियोमा ‘उग्रवादी प्रतीक प्रदर्शन’ गरेको आरोप लगाइएको कागजात सार्वजनिक गरेका थिए। उक्त भिडियोमा दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको फोटो थियो।
नाभाल्नीको सन् २०२४ को फेब्रुअरीमा राष्ट्रपति निर्वाचनको केही दिनअघि आर्कटिक जेलमा मृत्यु भएको थियो।
एक वकिलले रूसी स्वतन्त्र मिडियालाई बताएअनुसार नादेज्दिनलाई सोमबार नै अदालतमा उपस्थित गराइनेछ।
यो पक्राउ अधिकारीहरूले नादेज्दिनलाई ‘विदेशी एजेन्ट’ घोषित गरेको तीन दिनपछि भएको हो। यो क्रेमलिनले असन्तुष्ट नागरिकलाई दबाउन प्रयोग गर्ने एउटा आरोप हो।
नादेज्दिन सेप्टेम्बरमा हुने तल्लो सदनको निर्वाचनका लागि उम्मेदवार बन्न हस्ताक्षर सङ्कलन गरिरहेका थिए।
यो मतदान युद्धको पाँचौँ वर्षमा हुन लागेको छ, जसमा युक्रेनी हमलाले सामान्य जीवनलाई अझ बढी प्रभावित पारिरहेका छन्।
गत हप्ता नादेज्दिनले भनेका थिए, “‘विदेशी एजेन्ट’को ‘ट्याग’ले मलाई हस्ताक्षर सङ्कलन गर्न रोक्न सक्दैन र म यो ‘मूर्खतापूर्ण’ आरोप खेप्न र न्यायका लागि अदालतमा लड्न तयार छु।”
“म रूसमा हस्ताक्षर सङ्कलन गरेर उम्मेदवारी दिन खोजिरहेको एकमात्र स्वतन्त्र विपक्षी उम्मेदवार हुँ,” उनले युट्युबको एउटा भिडियोमा भनेका थिए। उनले मस्कोको उत्तरी उपनगरीय क्षेत्रबाट चुनाव लड्ने योजना बनाइरहेका छन्।
भिडियोमा उनले पुटिनको प्रत्यक्ष आलोचना गरेका थिए।
“युद्धका परिणाम सबैलाई स्पष्ट छन्,” उनले युक्रेनी ड्रोन हमलाका कारण उत्पन्न भएको ‘पेट्रोल सङ्कट’ र बढ्दो मूल्यको उदाहरण दिँदै भने।
“पुटिनले यी २५ वर्षदेखि देशलाई जुन बाटोमा लगिरहेका छन्, त्यो सैन्यीकरण, अलगाववाद र निरंकुशताको बाटो हो,” उनले थपे।
राष्ट्रपति पुटिनले संसदीय निर्वाचन २० सेप्टेम्बरका लागि तोकेका छन्।