
बेलायतकी पूर्व मन्त्री तथा वरिष्ठ राजनीतिज्ञ ७८ वर्षीया एन विडिकोम्ब आफ्नै निवासमा मृत फेला परेकी छन्। घटनामा हत्या भएको आशंकामा प्रहरीले २६ वर्षीय एक युवकलाई पक्राउ गरेको छ।
डेभोन र कर्नवाल प्रहरीले जनाएअनुसार बिहीबार डार्टमुरस्थित घरमा गम्भीर चोट लागेको अवस्थामा विडिकोम्ब फेला परेकी थिइन्। घटनाको अनुसन्धानका क्रममा शुक्रबार न्यूटन एबोटबाट एक २६ वर्षीय बेलायती युवकलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार हालसम्मको अनुसन्धानमा घटनाको आतंकवाद वा राजनीतिक उद्देश्यसँग सम्बन्ध रहेको कुनै प्रमाण फेला परेको छैन। पक्राउ परेका युवक विडिकोम्बका परिचित थिए वा थिएनन् भन्ने विषयमा भने अनुसन्धान जारी छ।
एन विडिकोम्ब बेलायती राजनीतिमा परिचित व्यक्तित्व थिइन्। उनी २३ वर्षसम्म कन्जरभेटिभ पार्टीबाट सांसद रहनुका साथै मन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेकी थिइन्। पछिल्लो समय उनी रिफर्म यूके पार्टीकी प्रवक्ताका रूपमा सक्रिय थिइन्। सन् २०१० मा टेलिभिजन कार्यक्रम स्ट्रिक्ली कम डान्सिङ मा सहभागिता जनाएपछि उनी राजनीतिबाहिर पनि लोकप्रिय बनेकी थिइन्।