२६ असार २०८३, शुक्रबार

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

असार २४, २०८३
काठमाडौं
तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा अनुगमन केन्द्रमाथि अमेरिकाले गरेको भनिएको आक्रमणको निन्दा गर्दै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

इरानी विदेश मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उक्त आक्रमण संयुक्त राष्ट्रसङ्घको बडापत्र र हालै भएको शान्तिसम्बन्धी समझदारीपत्र (एमओयू)को उल्लङ्घन भएको दाबी गरेको छ।

मन्त्रालयले अमेरिकाका पछिल्ला आक्रमण, इरानी तेल बिक्रीसम्बन्धी अनुमति खारेज गर्ने अमेरिकी निर्णय, होर्मुज जलसन्धिमा इरानी गतिविधिमाथिको अवरोध तथा लेबनानविरुद्ध इजरायली कारबाहीले समझदारीपत्रका महत्वपूर्ण पक्षलाई प्रभावित बनाएको जनाएको छ।

विज्ञप्तिमा इरानी सशस्त्र बलले अमेरिकी “सैन्य आक्रामकता”को स्रोत र उद्गमस्थललाई लक्षित गर्न पछि नहट्ने चेतावनी दिएको छ।

मङ्गलबार रातिदेखि बुधबारसम्म अमेरिका र इरानबीच पुनः तनाव बढेको छ। इरानले होर्मुज जलसन्धिमा व्यावसायिक जहाजमाथि गरेको भनिएको आक्रमणको जवाफमा अमेरिकाले इरानका करिब ८० वटा लक्ष्यमा आक्रमण गरेको जनाएको छ।

त्यसपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी)ले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडामाथि आक्रमण गरेको दाबी गरेको छ।

इरानी सरकारी समाचार संस्था आइआरआइबीका अनुसार बन्दर–ए–महशहर बन्दरगाह क्षेत्रमा भएको अमेरिकी आक्रमणमा एक आइआरजीसी सदस्यको मृत्यु भएको छ।

यसैबीच, नेटो शिखर सम्मेलनमा सहभागी हुन टर्कीको अङ्कारा पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवस्था अन्त्य भएको बताएका छन्। उनले अमेरिकाले आज राति इरानमाथि पुनः कडा आक्रमण गर्न सक्ने सङ्केत गर्दै होर्मुज जलसन्धिमा नौसैनिक नाकाबन्दी पुनः सुरु गर्ने तथा खर्ग टापुमाथि नियन्त्रण कायम गर्ने सम्भावना पनि उल्लेख गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्