२६ असार २०८३, शुक्रबार

आत्मदाह प्रयासको घटनामा सांसद कार्कीको टिप्पणी- मानसिक स्वास्थ्य राज्यको प्रमुख प्राथमिकता हुनुपर्छ

असार २६, २०८३
काठमाडौं
आत्मदाह प्रयासको घटनामा सांसद कार्कीको टिप्पणी- मानसिक स्वास्थ्य राज्यको प्रमुख प्राथमिकता हुनुपर्छ

काठमाडौंमा हिजो (बिहीबार) एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको घटनाबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा सांसद गणेश कार्कीले मानसिक स्वास्थ्य र राज्यको दायित्वलाई लिएर गम्भीर प्रश्न उठाएका छन्।

हिजो गणेश नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनको हाल अस्पतालमा उपचार भइरहेको छ। सोही घटनालाई लिएर सांसद कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पारिवारिक पीडा र विगतको मानसिक स्वास्थ्य अनुभवसमेत साझा गर्दै राज्य र समाजलाई गम्भीर बन्न आग्रह गरेका हुन्।

आफ्नै परिवारमा आत्महत्याका कारण सदस्य गुमाउनुपरेको पीडा र आफू स्वयं पनि कुनै समय 'एन्जाइटी'जस्तो मानसिक समस्याबाट गुज्रिएको अनुभव कार्कीले स्टाटसमा खुलाएका छन्। 'मान्छे मर्नु वा मारिनु हरेक अवस्थामा दुखद र संवेदनशील विषय हो । यसमा पक्ष वा विपक्ष भन्ने नै हुन्न । यसलाई पनि सही ठहर्‍याउन कसैले तर्क गर्छ भने त्यो नै अमानवीय हुन्छ,' उनले लेखेका छन्, 'आत्महत्याबाट आफ्नै परिवारको सदस्य गुमाइसकेको र म आफैँ पनि कुनै समय एन्जाइटीजस्तो मानसिक समस्या भोगिसकेको कारण मेरा लागि कुनै पनि आत्महत्या र त्यसको प्रयास मुटु छेड्ने बन्छ । मलाई होस सम्हाल्न समय लाग्छ ।'

उनले आत्मदाहको प्रयास घटनाको गम्भीर छानबिनको माग समेत गरेका छन्। 'गणेश नेपालीको स्वास्थ्य चाँडो निको होस् । कसैको कारणले यो भएको रहेछ भने छानबिन र उचित कारबाही हुनै पर्छ । गणेश नेपालीको आत्महत्याको प्रयास आफैँमा भयानक अवस्था हो । हरेकले सोच्नु पर्ने अनिवार्य हो । सरकारसहित राज्यका हरेक तह, अंग र निकायहरूका लागि यो आजको समयको सबैभन्दा प्रमुख विषय हो ।'

सांसद कार्कीले नेपालमा दैनिक रूपमा भइरहेका आत्महत्या र यसको प्रयासका डरलाग्दा तथ्याङ्कहरू प्रस्तुत गर्दै यसलाई अङ्कमा मात्र सीमित गरेर सामान्य रूपमा नलिन चेतावनी दिएका छन्।

मानसिक स्वास्थ्य र आवेग नियन्त्रणका विषयमा समाज अझै पनि खुला हुन नसकेको र राज्यका योजनाहरू केवल कागजमा मात्र सीमित भएको कार्कीको आरोप छ। 'अपवादबाहेक आत्महत्या मानसिक समस्या र आवेगका कारण हुने गर्छन् । तर मानसिक स्वास्थ्यबारे जसरी समाज खुला हुनु पर्ने हो, त्यो भएकै छैन,' उनले लेखेका छन्, 'आवेग रोक्ने शिक्षा जसरी दिनु पर्ने हो, त्यो दिएकै छैन । सरकारको प्राथमिकतामा मानसिक स्वास्थ्य परेको छ तर व्यवहारमा अझै प्रभावकारी ढंगमा देखिएको छैन । त्यसका योजनाहरू चाहिएका छन् । यसलाई प्राथमिकतामा देशका सबैले राख्न पर्छ ।'

 

salt training

कमेन्ट गर्नुहोस्