
उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा फुटबलप्रेमीहरूले इतिहासकै सबैभन्दा दुर्लभ र सनसनीपूर्ण 'फोर-वे स्प्रिन्ट' देख्न पाइरहेका छन् । विगतका कतिपय प्रतियोगितामा एकै जना खेलाडीले शुरूदेखि नै एकलौटी अग्रता बनाएर गोल्डेन बुटको दौडलाई एकतर्फी बनाइदिने गरे पनि यस पटकको दृश्य भने पूर्ण रूपमा फरक बनेको हो ।
सन् २००६ मा मिरोस्लाभ क्लोज र २०१० मा थोमस मुलरले मात्र ५ गोल गरेर गोल्डेन बुट जितेको इतिहास छ भने सन् २०१८ मा ह्यारी केनले ६ गोल र २०२२ मा किलियन एम्बाप्पेले ८ गोल गर्दा त्यसलाई निकै ठुलो संख्या मानिएको थियो। तर यस वर्ष भने ती संख्याहरू केवल शुरूआती विन्दु मात्र बनेका छन् र चारजना विश्वप्रसिद्ध फरवार्डहरू एउटै संस्करणमा १० वा सोभन्दा बढी गोल गर्ने दुर्लभ कीर्तिमानतर्फ तीव्र गतिमा अघि बढिरहेका छन्।
हालको अवस्थामा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी ८ गोलसहित शीर्ष स्थानमा छन् भने उनलाई फ्रान्सका किलियन एम्बाप्पे र नर्वेका एर्लिङ हालान्डले समान ७ गोलका साथ पछ्याइरहेका छन् । इङ्गल्यान्डका कप्तान ह्यारी केन ६ गोलसहित चौथो स्थानमा रहेर यो महाभिडन्तलाई अझ रोचक बनाइरहेका छन् । फिफाको नियमअनुसार विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ, तर यदि प्रतियोगिताको अन्त्यमा दुई वा दुईभन्दा बढी खेलाडीको गोल संख्या बराबर भएमा टाइब्रेकर नियम लागू हुन्छ। जसअन्तर्गत पहिलो प्राथमिकता खेलाडीको कुल गोल संख्यालाई दिइन्छ भने गोल बराबर भएमा सर्वाधिक 'असिस्ट' गर्ने खेलाडी अगाडि रहन्छ। यदि असिस्ट पनि बराबर भएको खण्डमा मैदानमा सबैभन्दा कम समय बिताएको खेलाडीले गोल्डेन बुट जित्नेछ।
शीर्ष स्थानमा रहेका ३९ वर्षीय लियोनेल मेसीको खेलमा अचेल बेग्लै परिपक्वता, उत्कृष्ट टाइमिङ र नियन्त्रण देखिएको छ। उनले अहिलेसम्म कुल ४१० मिनेट मैदानमा बिताउँदै २९ पटक गोलको प्रयास गरेका छन्, जसमध्ये १७ वटा प्रहार टार्गेटमा थिए। २७.६ प्रतिशतको गोल रूपान्तरण दर राखेका मेसीले ६ गोल समूह चरणमा र २ गोल नकआउट चरणमा गरेका हुन्। उनको अपेक्षित गोलको अनुपात ५.०२ मात्र भए पनि उनले मैदानमा ८ गोल गर्दै आफ्नो जादुमयी क्षमता प्रदर्शन गरिरहेका छन् र कम मिनेट खेलेका कारण गोल बराबर हुँदा उनी बलियो स्थितिमा रहनेछन्।
उनलाई कडा चुनौती दिइरहेका फ्रान्सका किलियन एम्बाप्पे ७ गोल र २ असिस्टका साथ फ्रान्सेली आक्रमणको मेरुदण्ड बनिरहेका छन्। ४४१ मिनेट मैदानमा बिताएका एम्बाप्पेले २६ सट प्रहार गरेकोमा १७ वटा टार्गेटमा लागेका छन् र उनको कन्भर्जन रेट २६.९ प्रतिशत छ। एम्बाप्पेको नाममा २ वटा असिस्ट भएकाले गोल संख्या बराबरी भएको खण्डमा उनी अरूभन्दा बढी फाइदामा रहनेछन्। उनी विश्वकपको एउटै संस्करणमा ८ वा सोभन्दा बढी गोल गर्ने विश्वका सीमित ९ खेलाडीको सूचीमा परिसकेका छन् र दुई फरक विश्वकपमा यस्तो कीर्तिमान बनाउने पहिलो खेलाडी बन्ने नजिक छन्।
आफ्नो जीवनकै पहिलो विश्वकप खेलिरहेका नर्वेका रैथाने स्ट्राइकर एर्लिङ हालान्डले टूर्नामेंट फुटबलका लागि आफू कति घातक खेलाडी हो भन्ने प्रमाणित गरिसकेका छन्। केवल ३६० मिनेट मैदानमा बिताएका हालान्डको गोल रूपान्तरण दर सबैभन्दा बढी अर्थात् ३८.९ प्रतिशत रहेको छ। उनले मात्र १८ सटमा १२ वटा टार्गेटमा प्रहार गर्दै ७ गोल निकाल्न सफल भएका हुन्, जसमा समूह चरणमा ४ र नकआउटमा ३ गोल समावेश छन्। उनको नाममा असिस्ट नभए पनि उनको सबैभन्दा कम मिनट-प्रति-गोलको औसतले उनलाई गोल्डेन बुटको सबैभन्दा ठुलो दाबेदार बनाएको छ।
यसै गरी सन् २०१८ को गोल्डेन बुट विजेता ह्यारी केन ६ गोल र १ असिस्टसहित ४४३ मिनेट खेलेर यो दौडमा निरन्तर टिकिरहेका छन्। केनको फिनिसिङ प्रोफाइल निकै बलियो छ र उनले १९ सट लिँदा १० वटा टार्गेटमा राखेका छन्।
उनको रूपान्तरण दर ३१.६ प्रतिशत छ भने 'बिग चान्स' गोल गर्ने दर ५७.१ प्रतिशत छ, जुन शीर्ष चारै खेलाडीहरूमध्ये उत्कृष्ट हो। केनसँग पनि असिस्टको विकल्प भएकाले उनी टाइब्रेकरको फाइदा उठाउन सक्छन्।
विश्वकपको झन्डै १०० वर्षको इतिहासमा अहिलेसम्म केवल ८ जना खेलाडीले मात्र एउटै विश्वकपमा ८ वा सोभन्दा बढी गोल गर्न सकेका छन्, जसमा जस्ट फन्टेन, गर्ड म्युलर, रोनाल्डो र एम्बाप्पे जस्ता दिग्गजहरू पर्दछन् र मेसी यस सूचीमा सामेल भइसकेका छन् । फ्रान्सका उसमान डेम्बेले, स्पेनका मिकेल ओयाजाबाल र इङ्गल्यान्डका जुड बेलिङ्घम समान ४–४ गोलका साथ यो दौडलाई पछ्याइरहेका भए पनि शीर्ष चारको गतिको तुलनामा उनीहरूले यो अन्तरलाई भेट्टाउने सम्भावना निकै कम देखिन्छ।
यो गोल्डेन बुटको दौड केवल कसले धेरै गोल गर्छ भन्ने मात्र नभएर दबाबका बिच कसले उत्कृष्ट प्रदर्शन गर्छ र आफ्नो टोलीलाई आगामी जुलाई १९ मा हुने फाइनलमा ऐतिहासिक स्वर्ण ट्रफी दिलाउन सक्छ भन्ने लडाइँ पनि हो। आगामी क्वाटरफाइनलमा हालान्डको नर्वे र केनको इङ्गल्यान्डबिच भिडन्त हुने भएकाले यी दुईमध्ये एक जनाको यात्रा यहीँ समाप्त हुने निश्चित छ, जसले यो महादौडलाई अझ बढी रोमाञ्चक मोडमा पुर्याउनेछ।