
आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति भएको छ ।
सहमतिअनुसार नेपालीको आत्मदाह प्रकरणमा जोडिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गरिने भएको छ ।
घटना भएको दिन अग्रभागमा खटिएका महानगर प्रहरीलाई छानबिन आयोगको प्रतिवेदन र सिफारिसका आधारमा अन्तिम निर्णय हुने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई पत्राचार गरिने छ ।
'घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदन/सिफारिस बमोजिम जाने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लेखि पठाउने,' सहमतिको बुँदा नम्बर तीनमा लेखिएको छ ।
यस्तै, काठमाडौं महानगरपालिकाले आगामी कार्यपालिका बैठकबाट गणेश नेपालीकी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराउने निर्णय गर्ने सहमति भएको छ।