२९ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

चारवटा विधेयक प्रमाणीकरणदेखि गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयसम्म

असार २६, २०८३
काठमाडौं
चारवटा विधेयक प्रमाणीकरणदेखि गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उपचारमा संलग्न चिकित्सकहरूले सुरुमा दिएको सुझावअनुसार नेपालीलाई भारतको नयाँदिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरिएको थियो ।

यसका लागि गृहमन्त्री सुदन गुरुङ स्वयं अहोरात्र खटिएका थिए । साथै सरकारले जलनका बिरामी नेपालीका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरेको थियो । त्यसअघि नेपालीको उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट ब्यहोर्ने निर्णयसमेत गरिएको थियो ।

वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा भेन्टिलेटरमा रहेका नेपालीको उपचार जारी रहेको र यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलैजाने भएको हो ।

चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचारका लागि भारत लैजान सुझाव दिएका छन् । यसैबीच नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ।

००००

फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको छ।

अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेको हो।

००००

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मध्यराति विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

००००

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको स्पष्ट पारेका छन् ।

कैलाली जिल्लामा कार्यरत डिएसपी चौधरीले हालै सार्वजनिक गरेको एक अभिव्यक्तिका कारण उनीमाथि कारबाही गरी जिल्ला तानिएको भनी सार्वजनिक भएको समाचारमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।

००००

नेकपा (एमाले) को पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनसम्बन्धी कार्यदलले देशव्यापी सुझाव संकलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्राप्त सुझावलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए।

००००

सातामा दुई दिने सार्वजनिक बिदा र दुरुपयोग भएका सरकारी सवारी खोस्ने सरकारको निर्णयका कारण देशको झन्डै १० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा जोगिएको छ ।

इन्धन खपत घटाउन सरकारले गत चैत २२ गते हप्तामा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो, जुन चैत २३ गतेदेखि लागू भयो ।

००००

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको कारबाही सिफारिस पुनरवलोकन गर्न माग गरेका छन् ।

आयोगले गरेको निर्णय नम्बर १७७ मा आफू र तत्कालीन मन्त्रिपरिषद्का केही सदस्यविरुद्ध २०८२ भदौ २३ र २४ गतेका घटना सम्बन्धमा गरिएको सिफारिस संविधान, प्रचलित कानून र अन्तर्राष्ट्रिय कानूनी मान्यताविपरीत रहेको दाबी गर्दै उनले पुनरवलोकनका लागि निवेदन दिएका हुन् । उक्त निर्णय सच्याउनुपर्ने ओलीको माग छ ।

००००

सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त)ले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा आयुक्तमा प्रस्तावित डा. राजिव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासी समस्याबारे आफू गम्भीर रहेको बताएका छन् । बिहीबार संसद् भवन सिंहदरबारबाट बाहिरिने क्रममा सञ्चारकर्मीका प्रश्नको संक्षिप्त जवाफ दिँदै सभापति लामिछाने सुकुम्बासी समस्याबारे आफू धेरै गम्भीर रहेको बताएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्