२६ असार २०८३, शुक्रबार

१५ जना बिरामीको हत्या गर्ने जर्मन डाक्टरलाई जन्मकैद

असार २४, २०८३
काठमाडौं
१५ जना बिरामीको हत्या गर्ने जर्मन डाक्टरलाई जन्मकैद

जर्मनीको एक अदालतले आफ्ना १५ जना बिरामीको हत्या गरेको अभियोगमा ४१ वर्षीय एक चिकित्सकलाई जन्मकैदको सजाय सुनाएको छ।

 बर्लिनस्थित अदालतले 'जोहानेस एम' नाम गरेका ती पिलियटिभ केयर विशेषज्ञलाई सन् २०२१ देखि २०२४ को बीचमा १२ महिला र ३ पुरुषको हत्या गरेकोमा दोषी ठहर गरेको हो।

अदालतमा प्रस्तुत विवरण अनुसार ती डाक्टरले बिरामीहरूको घरैमा पुगेर उनीहरूको अनुमतिबिना ज्यान लिने औषधिको मिश्रण सुईमार्फत दिएका थिए। 

मारिएका बिरामीहरू २५ देखि ९४ वर्ष उमेर समूहका थिए। अनुसन्धानका क्रममा उनले आफ्नो अपराध लुकाउन कतिपय बिरामीको घरमा आगजनी गर्ने प्रयाससमेत गरेको फेला परेको छ। सन् २०२४ को जुलाईमा पक्राउ पर्नुअघि मात्र उनले एकै दिनमा दुई जना वृद्ध बिरामीको हत्या गरेको अभियोग लगाइएको थियो।
लामो समय मौन रहेका ती चिकित्सकले गत महिना मात्र आफ्ना १२ जना बिरामीको हत्या गरेको स्वीकार गरेका थिए। उनले बिरामीहरूलाई पीडा र अशक्तताबाट मुक्ति दिन र उनीहरूको भलाइका लागि यस्तो कदम चालेको दाबी गर्दै अदालतमा माफी मागेका थिए। तर, पीडितका परिवारजनले भने चिकित्सकको दाबीलाई अस्वीकार गरेका छन्। मृतकका आफन्तहरूले आफ्ना प्रियजनहरू बाँच्न चाहेको र भविष्यका लागि विभिन्न योजनाहरू बुनिरहेको बयान दिँदै डाक्टरको क्रूरताप्रति आक्रोश व्यक्त गरेका छन्।

यो घटना यतिमै सीमित नहुने अधिकारीहरूको आशङ्का छ। अभियोजनकर्ताहरूले ती डाक्टरसँग जोडिएका अन्य ७६ वटा शङ्कास्पद मृत्युका घटनाहरूको अनुसन्धान गरिरहेका छन्। यदि यी थप घटनाहरूमा पनि उनी दोषी ठहरिएमा यो जर्मनीको इतिहासकै सबैभन्दा ठूलो 'सिरियल मर्डर'को घटना हुनेछ।
अदालतले डाक्टरको अपराधलाई अत्यन्तै गम्भीर प्रकृतिको ठहर गर्दै उनलाई चिकित्सा पेसामा आजीवन प्रतिबन्ध लगाएको छ। साथै, जेल सजाय पूरा भएपछि पनि उनलाई समाजका लागि खतरनाक हुन सक्ने भन्दै 'प्रिभेन्टिभ डिटेन्सन'मा राखिने विशेष आदेशसमेत जारी गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्