
धितोपत्र दलाल (स्टक ब्रोकर) कम्पनी साउथ एसियन बुल्स प्रा.लि. ले विद्यार्थीहरूमाझ सेयर बजार र वित्तीय साक्षरता जगाउने उद्देश्यले दुईवटा कलेजमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले बेटा एनालिटिक्स प्रा.लि. को सहजीकरणमा काठमाडौंको अपोलो इन्टरनेशनल कलेज र ललितपुरको पिनाकल एकेडेमीमा यो कार्यक्रम आयोजना गरेको हो।
कम्पनीले गत असार २९ गते अपोलो इन्टरनेशनल कलेजमा कार्यक्रम गरेको थियो, जसमा बीबीए, बीबीएम र बीबीएस तहका ७० भन्दा बढी विद्यार्थी सहभागी थिए। उक्त कार्यक्रममा सञ्जीव घिमिरेले स्रोत व्यक्तिका रूपमा प्रशिक्षण दिएका थिए।
त्यसैगरी, असार ३१ गते पिनाकल एकेडेमीमा आयोजित कार्यक्रममा ८० भन्दा बढी विद्यार्थीको सहभागिता थियो, जहाँ विक्रम चित्रकारले प्रशिक्षण दिएका थिए।
प्रशिक्षकहरूले विद्यार्थीहरूलाई वित्तीय साक्षरता, लगानीको योजना, जोखिम र प्रतिफलको मूल्याङ्कन, सेयर बजारमा सोचसमझर निर्णय लिनुको महत्त्व तथा दीर्घकालीन रूपमा सम्पत्ति सिर्जना गर्न सेयर बजारले खेल्ने भूमिकाबारे विस्तृत जानकारी गराएका थिए।

कार्यक्रममा साउथ एसियन बुल्सका अपरेशन हेड तथा कम्प्लायन्स अफिसर सहितका प्रतिनिधिहरूले ब्रोकर कम्पनीको कार्यप्रणाली, यसले दिने सेवा, लगानीकर्ता सहायता प्रणाली र नेपालको पूँजी बजारमा ब्रोकरहरूको भूमिकाबारे स्पष्ट पारेका थिए।
पिनाकल एकेडेमीका अध्यक्ष सरोज न्यौपाने र अपोलो इन्टरनेशनल कलेजका कार्यकारी निर्देशकले यस्ता कार्यक्रमले विद्यार्थीमा वित्तीय चेतना बढाउन ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै खुसी प्रकट गरे। उनीहरूले स्रोत व्यक्ति तथा कम्पनीका प्रतिनिधिहरूलाई सम्मानस्वरूप मायाको चिनो समेत प्रदान गरेका थिए।
विद्यार्थीहरूको उत्साहजनक सहभागिता र प्रश्नोत्तर सत्रसहित समापन भएको यस कार्यक्रमपछि साउथ एसियन बुल्सले दुवै कलेजप्रति आभार प्रकट गरेको छ। साथै, कम्पनीले देशैभरका युवा तथा सम्भावित लगानीकर्ताहरूमाझ लगानीकर्ता शिक्षा र वित्तीय साक्षरता फैलाउने आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।