
जेनजी अभियन्ता माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गरेका छन् । अस्पतालबाटै वक्तव्य जारी गरेका उनले आफूलाई प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी कुटपिट गरेको दाबी गर्दै सबै सम्बन्धित सरकारी निकाय, संघीय संसदका सदस्यहरू, प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूसँग आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदि आग्रह गरेका हुन् ।
कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टरमा पुगेका अन्सारीलाई प्रहरीले गत शनिबार कुटपिट गरी नियन्त्रणमा लिएको थियो । प्रहरीको कुटपिटबाट घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अन्सारीले आफूलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म कुनै जानकारी नदिइएको, पक्राउ पुर्जी पनि नदेखाइएको तथा पक्राउको कानुनी हैसियतबारे कुनै स्पष्टता नरहेको दाबी गरेका छन् । अन्सारीले आफूलाई पक्राउ गर्नुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्न माग गरेका छन् ।
यस्तो छ उनको भनाइ
मिति २०८३/०३/२७ गते शनिवार साँझ ५ बजेतिर १०-१२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरी गम्भीर घाइते बनाएकोमा हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मेरो उपचार भइरहेको छ । मलाई अहिलेसम्म मेरो पक्राउको कारणबारे कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी देखाइएको छ । मेरो पक्राउको कानूनी हैसियतबारे पनि कुनै स्पष्टता छैन । के गृहमन्त्री वा प्रहरी प्रमुखज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानूनी कारबाहीहरू किन यति लक्षित तरिकाले म विरुद्ध गरियो ? त्यसैले म सबै सम्बन्धित अधिकारीहरू, संघीय संसद्का सबै माननीय सदस्यहरू, प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदायहरू तथा सबै मानव अधिकार रक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछु ।