
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट बुधबार प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगमले साविककै मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।
निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा कुनै हेरफेर नगर्ने निर्णय गरेको हो। निगमद्वारा जारी विज्ञप्तिमा नयाँ खरिद मूल्य प्राप्त भए पनि अन्तर्राष्ट्रिय बजारको अस्थिरतालाई मध्यनजर गर्दै उपभोक्ता मूल्यमा परिवर्तन नगरिएको उल्लेख छ ।
निगमले विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आइरहेको जनाएको छ। सोही असहज परिस्थितिका कारण स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन गर्न नसकिएको निगमको तर्क छ।
