
प्रधानमन्त्री वालेन्द्र शाहले गभर्नर विश्वनाथ पौडेललाई अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शाहले मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन गभर्नर पौडेललाई निर्देशन दिएका हुन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब एक घण्टासम्म चलेको उक्त छलफलमा प्रधानमन्त्रीले सरकार र केन्द्रीय बैंक दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा विशेष जोड दिएका थिए ।
मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानलाई खुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन सुझाव दिँदै प्रधानमन्त्री शाहले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो रहेको औंल्याएका थिए ।
मुलुकभित्रै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीहरूलाई बिनाकुनै त्रास सहज रूपमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न र बैंकहरूको ब्याजदर एवं कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन प्रधानमन्त्रीले आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले नेपालको जगैदेखिको आर्थिक विकासका लागि महिला उद्यमी र आर्थिक–सामाजिक रूपमा पछाडि परेका क्षेत्रका व्यवसायीलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिई उनीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनेगरी मौद्रिक उपकरण परिचालन गर्न निर्देशन दिएका थिए ।
भेटमा गभर्नर पौडेलले राष्ट्र बैंक आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउन प्रतिबद्ध रहेको प्रस्ट पारेका थिए ।
उनले सरकार र राष्ट्र बैंक दुवैको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु नै भएको स्पष्ट पार्दै राष्ट्र बैंकले कसैलाई पनि अप्ठ्यारो पार्ने वा त्रसित बनाउने नीति नलिने बताएका थिए ।
सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई राष्ट्र बैंकले नीतिगत रूपमा पूर्ण रूपमा सहजीकरण गर्ने र मुलुकको समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गभर्नर पौडेलको प्रतिबद्धता थियो ।