
नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको भोलिपल्ट प्रदेश सरकारमा हलचल सृजना भएको छ ।
विगतमा भएको सहमति अनुसार एमाले नचलेको निष्कर्षसहित अन्य दलसँग पनि ढोका खोल्ने निर्णय मंगलबार कांग्रेस पदाधिकारी बैठकमा भएको थियो ।
सोही अनुसार सभापति थापाले प्रचण्डसँग भेटेर कुराकानी गरेका थिए । त्यसको भोलिपल्टै कर्णाली र सुदूरपश्चिम प्रदेशमा हलचल शुरू भएको हो ।
नेकपा एमालेका सचिव यामलाल कँडेल मुख्यमन्त्री रहेको कर्णाली प्रदेशबाट कांग्रेसका मन्त्रीले बुधबार सामूहिक राजीनामा दिए । कांग्रेस सरकारबाट बाहिरिए लगत्तै कर्णालीमा एमाले सरकार अल्पमतमा परेको छ ।
उता कांग्रेसका प्रकाश शाह नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारबाट एमालेका मन्त्रीहरू बर्खास्तीमा परेका छन् । सुदूरपश्चिममा बजेट पारित गर्न एमालेले असहयोग गरेको कांग्रेसको भनाइ छ ।
कर्णालीबाट शुरू भएको प्रदेश सरकारको हलचल अन्य प्रदेशमा पनि पुग्ने देखिएको छ । कांग्रेस कोशी प्रदेशले पार्टी, सरकार र संसद्बीच समन्वय गर्न बनाएको संयन्त्रको बैठक बोलाएको छ ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठकले सत्ता साझेदारीका विषयमा निर्णय गर्न सक्ने बताइएको छ । बजेटको विषयलाई लिएर कोशीमा समेत सत्ता साझेदार कांग्रेस-एमालेबीच असमझदारी उत्पन्न भएको थियो ।
कांग्रेसले एमालेसँगको सहकार्य तोडेर नेकपासँग समेत सरकार सञ्चालन गर्ने विकल्पमा छलफल शुरू गरेको छ ।
सुदूरपश्चिमसहित गण्डकी, बागमती र मधेश सरकार कांग्रेसको नेतृत्वमा छ भने कोशी, लुम्बिनी र कर्णाली सरकारको नेतृत्व नेकपा एमालेले गरेका थिए ।
कांग्रेस–एमाले खटपटको कारण
२०८१ असारमा कांग्रेस र एमालेबीच केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेसँगै प्रदेशका सरकार फेरिएका थिए । गत वर्षको भदौ २३–२४ को घटनापछि पनि प्रदेशका सरकारमा कांग्रेस र एमालेको सहकार्य कायम थियो ।
फागुन २१ को चुनाव भएपछि राजनीतिक समीकरण फेरिएसँगै प्रदेशको सरकारमा पनि नेतृत्व फेर्ने भद्र सहमति दुई दलबीच भएको थियो । तर, सो सहमति अनुसार एमाले अगाडि बढ्न नखोज्दा विवाद सृजना भएको कांग्रेसको दाबी छ ।
‘कांग्रेसले नेतृत्व गरेको सुदूरपश्चिम सरकारको बजेट पारित गर्न एमालेले गरेको अर्घेल्याइँका कारण हामी नयाँ ढोका खोल्न बाध्य भयौं’, नेपाली कांग्रेसका एक पदाधिकारीले लोकान्तरसँग भने ।
कांग्रेस पदाधिकारी बैठकमा तीनवटा विकल्पमा छलफल भएको छ । पहिलो– एमाले सच्चिएर अगाडि बढ्न तयार भएको अवस्थामा उसँगको सहकार्य अगाडि बढाउने ।
दोस्रो विकल्पमा नेकपासँग नयाँ समीकरण बनाएर अगाडि बढ्नेबारे कांग्रेसका छलफल भएको छ । तेस्रो विकल्पका रूपमा सातवटै प्रदेशमा विपक्षमा बस्नेबारे समेत छलफल भएको ती नेताले बताए ।
प्रचण्ड श्रीलंकाबाट फर्केपछि थप छलफल हुने कांग्रेस नेताहरूले बताएका छन् । एक कार्यक्रममा भाग लिन प्रचण्ड बुधबार श्रीलंका गएका छन् ।
२०७९ सालको चुनावमा तत्कालीन माओवादीसँग तालमेल भएकोले उनीहरूसँग सरकार सञ्चालन गर्न सहज हुने निष्कर्षमा कांग्रेस पुगेको एक पूर्वमुख्यमन्त्रीले बताए ।
कांग्रेस महामन्त्री गुरूराज घिमिरेले कांग्रेसले नेतृत्व गरेको ठाउँमा एमालेले असहयोग गरेका कारण प्रदेश सरकारमा समस्या सृजना भएको बताए ।
‘हामी विभिन्न विकल्पमा छलफल गरिरहेका छौं, एमालेसँगको निरन्तरता या नेकपासँग सहकार्य दुवै ढोका खोलेका छौं’ घिमिरेले लोकान्तरसँग भने ।
सरकार प्रदेश संरचनाप्रति अनुदार बनेको र संघीयता खारेजीको बहसमा लागेको भन्दै कांग्रेसले सकेसम्म प्रदेशमा अप्ठेरो स्थिति आउन नदिने बताएको छ ।
प्रदेश संसद्को कार्यकाल झण्डै १६ महिना बाँकी छ । सरकारले स्थानीय तह र प्रदेश सभाको चुनाव एकैपटक गर्नेगरी गृहकार्य समेत अगाडि बढाएको छ । त्यसको भएको खण्डमा प्रदेशसभाको निर्वाचन अघि सर्न सक्नेछ ।