
गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नदिई कोशी प्रदेशको आकस्मिक अनुगमनमा निस्किएका छन् । गृहमन्त्री गुरुङ शुक्रबार साँझ कोशी प्रदेशका केही सीमा नाकाहरूको निरीक्षणमा पुगेका हुन्।
सुरक्षा निकायका माथिल्लो तहका अधिकारीहरूलाई समेत पत्तो नदिई उनी कोशीका तराईका जिल्लाहरूमा केन्द्रित भएका छन्।
केही दिनअघि मात्रै मधेश प्रदेशको पर्सा पुगेर सीमा नाकाको निरीक्षण गरेका मन्त्री गुरुङ शुक्रबार साँझमा सुनसरीका विभिन्न नाकाहरू पुगेका थिए। सुनसरीको वस्तुस्थिति बुझेर उनी मोरङ छिर्ने तयारीमा छन् ।
सुरक्षा स्रोतका अनुसार गृहमन्त्रीले मोरङको विराटनगरस्थित दक्षिणी सीमा क्षेत्र (जोगबनी नाका) र आसपासका अन्य साना नाकाहरूको समेत स्थलगत निरीक्षण गर्ने योजना बनाएका छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गृहमन्त्री प्रदेशमा आएको जानकारी पाए पनि उनको यकिन लोकेसनबारे अवगत नरहेको बताए। 'गृहमन्त्रीज्यू आउनुभएको कुरा थाहा छ, तर अहिलेसम्म कहाँ हुनुहुन्छ र कुन-कुन ठाउँको निरीक्षण गर्नुहुन्छ भन्ने औपचारिक जानकारी छैन,' कट्टेलले भने ।