१६ असार २०८३, मंगलबार
बढ्दो लागुऔषध कारोबार

कुलतको दलदलमा युवा– काठमाडौंदेखि झापासम्म ‘रेड जोन’मा

असार १५, २०८३
काठमाडौं
कुलतको दलदलमा युवा– काठमाडौंदेखि झापासम्म ‘रेड जोन’मा

२०७१ तिर नेपाल प्रहरीले दुई सय पिस डाइजेपाम, बुप्रेनर्फिन र फेनारगन बरामद गर्दा ठूलो उपलब्धिको रूपमा लिन्थ्यो । अहिले दैनिकजसो हजारौ पिस यस्ता एम्पुल बरामद भइरहेका छन् ।

प्रहरी प्रधान कार्यालयकै तथ्यांक हेर्ने हो भने यो वर्षको जेठ मसान्तसम्ममा डाइजेपाम, फेनारगन र बुप्रेनर्फिनगरी एक लाख ५० हजार पाँच सय ३५ एम्पुल बरामद भएका छन् ।

यो भनेको औसतमा दैनिक चार सय १३ एम्पुल बरामद हुनु हो । सिरिन्जको माध्यमबाट प्रयोग हुने यी एम्पुललाई दुर्व्यसनीले लागुऔषधको रूपमा प्रयोग गरिरहेका छन् ।

अब ट्याबलेटजन्य लागुऔषधको बरामद परिमाणको चर्चा गराँै । यो वर्षको जेठ मसान्तसम्म ट्रामाडोल र नाइट्राजेपाम गरी १३ लाख १४ हजार दुई सय सात पिस बरामद भएका छन् । औसतमा एक दिनमा तीन हजार ६ सय पिस प्रहरीले बरामद गरिरहेको छ ।

यही अवधिमा प्रहरीले गाँजा ५० हजार सात सय २५ किलो, चरेस सात सय २२ किलो, खैरो हेरोइन ४० किलो, अफिम ६३ किलो र कोकिन १२ किलो बरामद गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार काठमाडौं उपत्यका, नेपालगञ्ज, सुर्खेत, बारा, पर्सा, रौतहट, झापा, सुनसरी, मोरङ, रुपन्देही र बर्दिया लागुऔषधको अवैध कारोबार हुने जिल्ला हुन् ।

भारतबाट खैरो हेरोइन र ट्याबलेटजन्य लागुऔषध नेपाल भित्रिन्छ । नेपालबाट गाँजा र चरेस भारत पुग्छन् । सँगसँगै कोकिनजन्य लागुऔषध नेपाल ट्रान्जिट भएर भारत पुग्छन् ।

ब्यूरोलाई प्राप्त जानकारी अनुसार काठमाडौं उपत्यकासहितका अन्य जिल्लामा सञ्चालनमा रहेका लागुऔषध उपचार तथा पुनर्स्थापना केन्द्रहरूमा राखिएका अधिकांश युवा लागुऔषध दुर्व्यसनको कुलतमा फसेकाहरू हुन् । हाल नेपालमा तीन सय भन्दा बढी पुन:स्थापना केन्द्र सञ्चालनमा छन् ।

गाँजाबाट शुरू गरेको कुलत विस्तारै ट्याबलेटजन्य लागुपदार्थ हुँदै सिरिन्जबाट लिने डाइजेपाम, बुप्रनर्फिन र फेनारगनसम्म पुगेको छ । खैरो हेरोइन अलि महंगो हुने भएकाले यसका दुर्व्यसनीहरू कमै छन् ।

गृह मन्त्रालयले २०७६ मा सार्वजनिक गरेको सर्वेक्षण अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताहरूको संख्या एक लाख ३० हजार चार सय २४ जना थिए, जसमा कूल संख्याको ७ प्रतिशत महिला थिए ।

यसअघिको सर्वेक्षणको तुलना गर्दा नेपालमा वार्षिक ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दो छ । २०६९ मा गृहले गरेको सर्वेक्षणअनुसार ९१ हजार पाँच सय ३४ जना लागुऔषध प्रयोगकर्ता थिए । यसलाई आधार मान्दा पनि हाल नेपालमा एक लाख ७६ हजार ७२ जना लागुऔषध प्रयोगकर्ता रहेको अनुमान गर्न सकिन्छ ।

नेपालमा २५ देखि २९ वर्ष उमेर समूहका युवायुवतीहरू लागुऔषध प्रयोगकर्ताको सूचीमा धेरै छन् ।

ब्यूरोका अनुसार बागमती प्रदेशमै सबैभन्दा धेरै लागुऔषध प्रयोगकर्ताहरू छन् । बागमति प्रदेशपछि कोशी प्रदेश, कोशीपछि लुम्बिनी प्रदेश र मधेश प्रदेशमा लागुऔषध प्रयोगकर्ता धेरै छन् । सबैभन्दा कम प्रयोगकर्ता कर्णाली प्रदेशमा रहेको ब्यूरोको अध्ययनले देखाएको छ ।

नेपाल प्रहरीले यसै महिनादेखि कोशी प्रदेशबाट ‘लागुऔषधविरुद्ध झापा अभियान’ सञ्चालनमा ल्याएको छ । अहिले दैनिकजसो लागुऔषध बरामद भइरहेका छन् । झापा लागुऔषधको हब रहेको त्यहाँका सुरक्षा प्रमुखहरू नै स्वीकार्छन् । ‘झापा लागुऔषधको हब भन्न अब हिच्किचाउन हुँदैन, यहाँको अवस्था भयावह छ,’ झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले लोकान्तरसँग भनिन्, ‘यहाँका युवाशक्ति लागुऔषधको कुलतमा फसेका छन्, हामीले लागुऔषध बरामद मात्रै गरेका छैनौं । काउन्सिलिङको पाटोमा पनि काम गरेका छाँै ।’

अभियानपछि हालसम्म झापा प्रहरीले पाँच किलो बढी ब्राउनसुगर बरामद गरिसकेको छ । प्रहरीका अनुसार एक ग्राम ब्राउनसुगरले १० पटकसम्म सेवन गर्न मिल्छ । एक ग्राम ब्राउन सुगरको बजारमा अवैध मूल्य २५ सयदेखि तीन हजारसम्म रहेको ब्यूरोको अनुसन्धानले देखाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोले केही दिनअघि मात्रै झण्डै दुईलाख पिस ट्याबलेटजन्य लागुऔषध बरामद गरेको थियो । त्यो पनि माटोमुनि गाडेको अवस्थामा । ११ जनालाई पक्राउ गरियो । उनीहरूको बयान सुन्दा ब्यूरोका प्रहरी झस्किए । ती सबै ट्याबलेटहरू काठमाडौं उपत्यकामै बिक्री हुन्थ्यो भनेर पक्राउ परेकाले बयान दिएका थिए । खरिद गर्ने व्यक्तिहरू २० वर्षदेखि ३५ वर्ष उमेर समूहका युवायुवती रहेको तथ्य आरोपीले खुलाएका थिए ।

प्रहरीले विगत एक सातायता झापा, धनकुटा, विराटनगर, मोरङ, सुनसरी, काठमाडौं, भैरहवा, नेपालगञ्ज लगायत ठाउँबाट दैनिकजसो लागुऔषध बरामद गरिरहेको छ ।

ब्युरो प्रमुख एवं एसएसपी सुवास बोहरा भन्छन्, ‘हामीले केही घटना काठमाडौं उपत्यका र केही घटना झापा, मोरङ, सुनसरी अनि नेपालगञ्ज, सुर्खेत र रुपन्देहीको विश्लेषण गर्दा लागुऔषध प्रयोगकर्ता ह्वात्तै बढेका पायाँै । प्रयोगकर्ताहरू हरेक पेशाका छन्, पुरुषमात्रै होइन, महिला पनि छन् ।’

बोहराका अनुसार गाँजाबाट शुरू भएको दुर्व्यसन हेरोइनसम्म पुगेर पैसा नभएपछि लुटपाट तथा चोरी धन्दामा लाग्ने गरेको तथ्य पनि अनुसन्धानबाट फेलापरेको थियो ।

‘कारोबारीलाई छिटो धनी हुनुछ, प्रयोगकर्तालाई सहजै लागुऔषध पाएहुन्थ्यो भन्ने छ,’ बोहराले लोकान्तरसँग भने, ‘देशभरबाट लागुऔषध बेचबिखनमा संलग्न सात हजार बढी मानिसहरू बर्सेनि पक्राउ पर्र्दै आएका छन्, अधिकांश जेल पनि गएका छन्, तर पनि कारोबार रोकिएको छैन ।’

ब्यूरोबाट फिल्डमा खटिने प्रहरी अधिकारीका अनुसार लागुऔषध कारोबारको सूचना सजिलै आउँदैन । पहिला दुर्व्यसनी पत्ता लगाउनुपर्छ । उसैबाट खुद्रा कारोबारी हुँदै मुख्य कारोबारीसम्म पुग्नुपर्छ । तर, त्यसका लागि धेरै पैसा खर्च हुन्छ ।

उनी भन्छन्, ‘हामीले बरामद गरेको लागुऔषध र पक्राउ परेका दुर्व्यसनीको तथ्यांक केलाउने हो भने काठमाडौं उपत्यकामै डरलाग्दो अवस्था छ । सरकारले सप्लाई कन्ट्रोल गर्न ठूलै पैसा खर्च गर्नुपर्छ ।’

nullnullnull

salt training

कमेन्ट गर्नुहोस्