
पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिए पनि नेपालमै बस्दै आएका २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ डल्लु र सीतापाइलालगायत क्षेत्रमा सञ्चालित कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामध्ये केहीसँग स्थायी परिचय खुल्ने कागजात तथा पासपोर्ट नभएको र केहीले म्याद सकिएको पर्यटक भिसामा नेपालमा बसोबास तथा काम गरिरहेको पाइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सबै २४ जनालाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।