०६ असार २०८३, शनिबार

बालकुमारीमा गोली हानेर नियन्त्रणमा लिइएका तीन जनाको विवरण सार्वजनिक, एक घाइते

असार ६, २०८३
काठमाडौं
बालकुमारीमा गोली हानेर नियन्त्रणमा लिइएका तीन जनाको विवरण सार्वजनिक, एक घाइते

काठमाडौंको बालकुमारी क्षेत्रबाट प्रहरीले ३ सय ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले नियन्त्रणमा लिन खोज्दा भाग्ने प्रयास गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार काठमाडौं उपत्यकामा लागूऔषध आपूर्ति गर्ने गिरोहको निगरानीका क्रममा शनिबार काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलनजिक भारतबाट ल्याइएको खैरो हेरोइन बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो ।

प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि आक्रमण गर्दै भाग्न खोजेका थिए । चेतावनीस्वरूप २ राउन्ड फायर गरी रोक्न खोज्दा पनि नरोकेपछि प्रहरीले थप चलाएको गोली लागेर पर्साको पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया घाइते भएका हुन् । उनको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको ब्युरोले जनाएको छ ।

पक्राउ पर्ने अन्यमा कैलालीको टीकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल र सप्तरीको राजगढ गाउँपालिका–३ का २० वर्षीय निरज कुमार मण्डल रहेका छन् । 

उनीहरूको साथबाट ३ सय ग्राम खैरो हेरोइन र चार थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।

ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार घाइते ओझैया यसअघि लागूऔषध मुद्दामा तीन वर्ष कैद र एक लाख चार हजार रूपैयाँ जरिवाना भुक्तान गरी २०८२ पुस १७ गते नख्खु कारागारबाट छुटेका व्यक्ति हुन् ।

salt training

कमेन्ट गर्नुहोस्