
कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।
बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा डुबेर शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।
उनका अनुसार पौडी खेल्ने क्रममा दुवै जना डुबेर बेपत्ता भएका थिए। प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा आज शव फेला परेको हो। शिशिरको शव घटनास्थल नजिकै र पुजनको शव टिपुवाघाटमा फेला परेको प्रहरी नायक उपरीक्षक भट्टराईले बताए। नदीमा पानी धमिलो भएका कारण खोजी कार्यमा कठिनाइ भएको थियो।
उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बढी हुने र यस्तै घटनाबाट अकालमा ज्यान गुमाउनुपर्ने अवस्था दोहोरिने भएकाले सुरक्षा उपायहरू अपनाउन जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ।