०७ साउन २०८३, बिहीबार
प्रहरीमा पुनर्संरचना ?

मधेशमा ‘जरा गाडेका’ ३५ प्रहरीको एकसाथ सरुवा, घुसकाण्डपछि शुरू भयो व्यापक फेरबदल !

असार ४, २०८३
काठमाडौं
मधेशमा ‘जरा गाडेका’ ३५ प्रहरीको एकसाथ सरुवा, घुसकाण्डपछि शुरू भयो व्यापक फेरबदल !

मधेश प्रदेशमा लामो समयदेखि एउटै जिल्लामा कार्यरत ३५ जना तल्लो दर्जाका प्रहरी कर्मचारीलाई एकैपटक अन्तरप्रदेश काज सरुवा गरिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयको नेतृत्व परिवर्तनको संघारमा गरिएको यो सरुवालाई लिएर प्रहरी संगठनभित्र र बाहिर विभिन्न चर्चा शुरू भएको छ । 

सरुवा हुनेमा वरिष्ठ सईदेखि प्रहरी जवानसम्म छन् । विशेषगरी सादा पोशाक, मुद्दा अनुसन्धान तथा विभिन्न जिल्लामा लामो समयदेखि कार्यरत प्रहरी कर्मचारीहरू सरुवाको सूचीमा परेका हुन् । 

प्रहरी स्रोतका अनुसार विगतमा राजनीतिक पहुँच, व्यक्तिगत सम्बन्ध वा विभिन्न शक्ति केन्द्रसँगको निकटताका आधारमा वर्षौंसम्म एउटै जिल्लामा बसिरहेका प्रहरी कर्मचारीलाई हटाउने उद्देश्यले सरुवा प्रक्रिया अघि बढाइएको हो ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले व्यापारीसँग घुस लिने गरेको अडियो बाहिरिएपछि मधेश प्रदेशमा बबण्डर मच्चिएको थियो । यही घटनापछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मधेश प्रदेशमा जरा गाडेर बसेका जुनियर अधिकृतदेखि जवानसम्मलाई अन्तर प्रदेश सरुवा गर्ने निर्णय लिएका हुन् ।

दोस्रो पटक गृहमन्त्री बनेका सुधन गुरुङले मन्त्रालय सम्हालेको केही दिनमै मधेश प्रदेश प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखको सरुवा गरेका हुन् । 

मधेश प्रदेशमा डीआईजी ओमप्रसाद अधिकारी पुगेका छन् । डीआईजी थपलियालाई भने काठमाडौं उपत्यका प्रहरी कार्यालय सरुवा गरिएको छ । 

यस्तै, सुदूरपश्चिम प्रदेशका डीआईजी ओम राणालाई प्रहरी मुख्यालय झिकाएर उनको ठाउँमा डीआईजी सानुराम भट्टराईलाई पठाइएको छ । 

मधेशबाट डीआईजी थपलियाको मात्रै सरुवा भएन, घुसकाण्डमा जोडिएका सई जयलाल यादव तथा अडियो संवादमा उल्लेख भएका वरिष्ठ सई सागर राणा पनि सरुवामा परेका छन् । वरिष्ठ सई राणालाई त जिल्ला प्रहरी कार्यालय बाजुरा अन्तर्गत इलाका प्रहरी कार्यालय बुढीनन्दा सरुवा गरिएको छ ।

null

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार मधेश प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयलाई पत्राचार गर्दै सरुवामा परेका कर्मचारीलाई तत्काल रमाना हुन निर्देशन दिएको थियो ।

सरुवामा परेका कतिपय कर्मचारीले भने न्यूनतम कार्यअवधि पूरा नगरेको अवस्थामा आफूहरूलाई हटाइएको बताएका छन् । उनीहरूमाथि कुनै औपचारिक कारबाही, नसिहत वा अनुशासनसम्बन्धी निर्णयसमेत नभएको उनीहरूको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार डीआईजी थपलियासँग विवादमा रहेका केही जिल्ला तथा इलाका प्रमुखसँग निकट मानिएका प्रहरी कर्मचारीसमेत सरुवामा परेका छन् ।

सरुवामा परेका केही प्रहरी कर्मचारीले भने आफूहरूलाई अनावश्यक दु:ख दिइएको गुनासो गरेका छन् । कार्यालय प्रमुख र उच्च अधिकारीबीचको सम्बन्धको असर आफूहरूमाथि परेको उनीहरूको दाबी छ । यद्यपि उनीहरू औपचारिक रूपमा बोल्न चाहँदैनन् ।

सरुवाको सूचीअनुसार मधेश प्रदेश प्रहरी गण जनकपुरधामका वरिष्ठ सई रामबालक राय यादव जिल्ला प्रहरी कार्यालय बाग्लुङ पुगेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारामा कार्यरत वरिष्ठ सई भानुभक्त नेपाललाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ ।

null

सर्लाहीमा कार्यरत रोशन अधिकारी जिल्ला प्रहरी कार्यालय ओखलढुंगा पुगेका छन् भने धनुषाका वरिष्ठ सई टेकबहादुर कार्की भोजपुर सरुवा भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका वरिष्ठ सई प्रकाश सिम्खडा पाँचथर पुगेका छन् भने वरिष्ठ सई राजेन्द्र गिरी उदयपुर सरुवा भएका छन् ।

बारा र धनुषामा लामो समयदेखि कार्यरत सई अर्जुनबाबु खतिवडालाई जिल्ला प्रहरी कार्यालय तनहुँ पठाइएको छ । धनुषास्थित तालिम केन्द्रमा दरबन्दी भई विशेष सुरक्षा गणमा कार्यरत सई किरण कार्कीलाई जिल्ला प्रहरी कार्यालय दार्चुला सरुवा गरिएको छ ।

त्यस्तै, प्रहरी सहायक निरीक्षक (असई) राजकिशोर कुमार यादव म्याग्दी, अमित कुमार राय लमजुङ तथा सुधिरकुमार शाह मनाङ सरुवा भएका छन् । अन्य प्रहरी कर्मचारीलाई पनि दार्चुला, संखुवासभा, भोजपुर, काठमाडौंलगायत विभिन्न जिल्लामा खटाइएको छ ।

प्रहरी संगठनमा सरुवा नियमित प्रशासनिक प्रक्रिया भए पनि मधेश प्रदेशमा गरिएको यो एकमुष्ट अन्तरप्रदेश सरुवाले भने विभिन्न प्रश्न उठाएको छ । एकातिर लामो समय एउटै स्थानमा कार्यरत कर्मचारीको प्रभाव घटाउने प्रयासका रूपमा यसलाई हेरिएको छ भने अर्कोतर्फ सरुवाको आधार र मापदण्डबारे पनि चासो व्यक्त हुन थालेको छ ।

null

अहिलेलाई ३५ प्रहरी कर्मचारीको यो सामूहिक सरुवा सामान्य प्रशासनिक निर्णयभन्दा बढी प्रहरी संगठनभित्रको व्यापक पुनर्संरचनाका रूपमा चर्चा भइरहेको छ ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले सरुवा नियमित प्रक्रिया भएकाले यसमा अनावश्यक टिप्पणी गर्नुपर्ने विषय नरहेको बताए । 

‘आवश्यकताका आधारमा सरुवा भइरहन्छन्, प्रहरी संगठनमा प्रवेश गरेपछि संगठनले जहाँ खटाए पनि जानुपर्छ’, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्