१२ असार २०८३, शुक्रबार

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

असार ११, २०८३
म्याग्दी
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा मर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । पछिल्लो १० दिनयता बरङ्जामा कुकुरले टोकेर तीन वटा बाख्रा मरेका छन् भने छ वटा घाइते भएका छन् ।

दैनिकजसो कुकुरले टोकेर बाख्रा मार्ने र घाइते बनाउन थालेको मङ्गला गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष भेषकुमारी पुनले बताइन् । “पिङ्गे, खर्क, आलडाँडा, बाहुनपँधेरा, वडा कार्यालय, खर्सुपानी क्षेत्रमा सामुदायिक कुकरले आतङ्क सिर्जना गरेको छ”, उनले भनिन्, “आतङ्क फैलाउने कुकुर पहिचान गरी नियन्त्रणका लागि गाउँपालिका र सिंगा तातोपानी प्रहरी चौकीको सहयोग मागेका छौँ ।”

वडा कार्यालयमा रहेका पशु स्वास्थ्य प्राविधिकलाई कुकुरले टोकेर घाइते भएका बाख्राको उपचारका लागि भ्याइनभ्याइ भएको कार्यवाहक वडाध्यक्ष पुनले बताइन् । उनका अनुसार पिङ्गेका टेकबहादुर थापाका दुई वटा र भीमबहादुर रोकाको एउटा बाख्रा कुकुरले टोकेर मरेका छन् ।

वडाध्यक्ष पुनका अनुसार खर्सुपानीमा दुई, खर्कमा दुई, वडा कार्यालय नजिकै एउटा र बाहुनपँधेरामा एउटा बाख्रा कुकुरले टोकेर घाइते भएका छन् । स्थानीय कृषक गङ्गाधर आचार्यका अनुसार तीन वटा कुकुर घरमा किसान नभएको मौका छोपेर गोठमा आउने गरेका छन् ।

कुकुर आतङ्कका कारण बरङ्जावासीमा त्रास सिर्जना भएको स्थानीय महेन्द्ररत्न माविका प्रअ कृष्णलाल सापकोटाले बताए । बरङ्जाका सबै टोलमा सार्वजनिक सूचना जारी गरेर घरपालुवा कुकुरलाई सम्बन्धित घरधनीले बाँधेर राख्ने र झारा लगाएर खोजी आतङ्क फैलाउने कुकुरलाई नियन्त्रणमा लिन गाउँपालिका र सुरक्षा निकायसँग सहयोग मागिएको कार्यवाहक वडाध्यक्ष पुनले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्