
जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राका क्रममा अनुमतिविना ड्रोन नउडाउन आग्रह गरेको छ।
कार्यालयले सूचना जारी गर्दै असार ६ गते ललितपुर महानगरपालिका–४ जावलाखेलमा हुने भोटो देखाउने कार्यक्रमको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै साँझ ५ बजेदेखि ७ बजेसम्म मानव रहित हवाई उपकरण (ड्रोन) उडाउन रोक लगाएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयको स्वीकृतिविना उक्त समयावधिमा ड्रोन उडाएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी सूचनामा जात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सबै सरोकारवालालाई सहयोग गर्न अनुरोध गरिएको छ।
