०७ असार २०८३, आइतबार

वैदेशिक रोजगारीका नाममा ५६ लाखभन्दा बढी ठगी गर्ने सात जना पक्राउ

असार ६, २०८३
काठमाडौं
वैदेशिक रोजगारीका नाममा ५६ लाखभन्दा बढी ठगी गर्ने सात जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै ५६ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २८ वर्षीय सन्तोष अधिकारी, दाङ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने २९ वर्षीय हेमन्त केसी, सुनसरी घर भई बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ४२ वर्षीय सुकदेव राई रहेका छन् ।

यसैगरी, सुनसरी घर भई बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ३४ वर्षीय मनिष पोदार, रूपन्देही घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ४७ वर्षीय रामरतन मिश्र, कास्की घर भई काठमाडौं टोखा बस्ने ३९ वर्षीय अमृत अधिकारी तथा रौतहट घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ३५ वर्षीय मिर इसलामाना समेत पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सन्तोषले ग्रिस पठाइदिने भन्दै एक जनाबाट १० लाख रूपैयाँ, हेमन्तले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट १३ लाख ३० हजार रूपैयाँ, सुकदेवले सर्बिया पठाइदिने भन्दै दुई जनाबाट १३ लाख रूपैयाँ ठगी गरेको उजुरी परेको छ । 

त्यसैगरी, मनिषले बेलायत पठाइदिने भन्दै एक जनाबाट २ लाख रूपैयाँ, रामरतनले यूएई पठाइदिने भन्दै एक जनाबाट २ लाख ३० हजार रूपैयाँ, अमृतले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट ३ लाख ५० हजार रूपैयाँ तथा मिरले बेलायत पठाइदिने भन्दै एक जनाबाट १२ लाख ६३ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूले उजुरी दिएका थिए ।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

सन्तोष र हेमन्तलाई बुधबार काठमाडौं महानगरपालिका–१२ बाट, सुकदेवलाई बिहीबार बूढानीलकण्ठ–११ बाट तथा मनिष, रामरतन, अमृत र मिरलाई शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्