
अफगानिस्तानको तालिवान सरकार अन्तर्गतको सदाचार प्रहरी (मोरालिटी पुलिस)ले इरान-अफगानिस्तान सीमा नजिकबाट करिब २० जना सहायता कर्मीहरूलाई नियन्त्रणमा लिएको छ । सहायता कर्मीहरूको दाह्रीको लम्बाइ पर्याप्त नभएको (छोटो भएको वा खौरिएको) भन्दै उनीहरूलाई पक्राउ गरिएको पाकिस्तानी पत्रिका डाउनले जनाएको छ ।
समाचारअनुसार काबुलमा शासन गरिरहेको तालिवान प्रशासनले इस्लामिक कानुनको कडा व्याख्या र पालना गराउँदै आएको छ, जसअनुसार पुरुषहरूले कम्तीमा एक मुठ्ठीभन्दा लामो दाह्री पाल्नुपर्ने नियम अनिवार्य गरिएको छ ।
दुई सहायता कर्मीहरूले नाम नछाप्ने सर्तमा साझा गरेको आन्तरिक प्रतिवेदनअनुसार पक्राउ परेका कर्मचारीहरूले 'इस्लाम कला' सीमा नाकामा संयुक्त राष्ट्रसङ्घसँग सहकार्य गर्ने संस्थाहरूमा कार्यरत थिए । अन्तर्राष्ट्रिय बसाइँसराई सङ्गठनको एउटा आन्तरिक वक्तव्यअनुसार सदाचार प्रहरीले इस्लाम कला स्वागत केन्द्रबाट संयुक्त राष्ट्रसङ्घका कार्यान्वयन साझेदार सङ्गठनका स्थानीय पुरुष कर्मचारीहरूलाई दाह्री काटेको वा छोटो पारेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेकामध्ये केही सहायता कर्मीहरूलाई सोही दिन र बाँकीलाई भोलिपल्ट रिहा गरिएको प्रतिवेदनमा उल्लेख छ ।
घटनाका सम्बन्धमा तालिवान सरकारको सदाचार प्रवर्द्धन तथा दुराचार निवारण मन्त्रालयले कुनै आधिकारिक टिप्पणी नगरेको समाचारमा उल्लेख छ।
अर्का एक तेस्रो सहायता कर्मीका अनुसार प्रहरीले इस्लाम कला सीमा क्षेत्रमा रहेको एउटा कार्यालयभित्रै प्रवेश गरेर सीमा नाकामा विभिन्न सेवा प्रवाह गर्ने निकायहरूमा कार्यरत २० जना कर्मचारीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका ती व्यक्तिहरूलाई कोहसान मा स्थानान्तरण गरिएको उनले बताए ।