केही संयोगहरू यति सुन्दर हुन्छन् कि तिनलाई कुनै काल्पनिक कथासँग दाँज्न मन लाग्छ। विश्वकप फुटबल रंगशालामा अहिले यस्तै एउटा ‘परी कथा’ जीवन्त बनेको छ। विश्वकप फुटबलको इतिहासमा ठीक ३२ वर्षपछि एउटा यस्तो रमाइलो र अचम्मलाग्दो संयोग दोहोरिएको छ, जसले पुस्तान्तरणको एउटा नयाँ र दुर्लभ इतिहास लेखेको छ।
फुटबल महाकुम्भको १५औँ संस्करण सन् १९९४ मा अमेरिकामा आयोजना भएको थियो। विश्वकपको त्यो संस्करणमा मैदानमा ओर्लिएका नर्वेका तीनजना खेलाडीका छोराहरू ठीक ३२ वर्षपछि अहिले फेरि मैदानमा छन्। संयोग कस्तो परेको छ भने, अहिले विश्वकपको २३औँ संस्करण पनि अमेरिकामै आयोजना भइरहेको छ। यो कथा हो, नर्वेजियन टोलीको।
यो एउटा यस्तो पुस्तान्तरणको कथा हो, जसले खेलप्रेमीलाई भावुक मात्र बनाएको छैन, बरु विश्वकपको इतिहासकै एउटा दुर्लभ ‘संयोग’को रूपमा दर्ज पनि भएको छ। आखिर ३२ वर्षअघि बाबुहरूले जुन माटोमा आफ्नो सपना अधुरै छाडेका थिए, आज तिनैका छोराहरू अर्लिङ हालान्ड, अलेक्जेन्डर सोर्लोथ र क्रिस्टियन थोर्सभेटले कसरी इतिहास दोहोर्याउँदै छन्? आउनुहोस्, यो रोचक कथा बुझौँ।
सन् १९९४ को विश्वकप नर्वेली फुटबलका लागि जति ऐतिहासिक थियो, त्यति नै पीडादायी पनि। त्यतिबेला, नर्वेसँगै इटाली, मेक्सिको र आयरल्यान्ड समूह ‘ई’मा परेका थिए। समूहगत चरणमा नर्वेको यात्रा निकै क्रूर तरिकाले टुंगिएको थियो। समूहगत चरणको खेलपछि चारवटै टोलीको समान चार–चार अंक थियो। त्यसपछि, नकआउट चरणका लागि ‘गोल अन्तर’ निर्णायक बन्न पुग्यो। त्यसमा नर्वे सबैभन्दा पछाडि पर्यो र समूहगत चरणबाटै घर फर्कन बाध्य भयो।
नर्वेले गोल पनि एउटा मात्र गर्यो र खाएको पनि एकमात्र थियो। अन्य टोलीले पनि जति गोल गरेका थिए त्यति नै खाएका थिए, तर अन्य टोलीले नर्वेभन्दा बढी गोल गरेका थिए। त्यो बहिर्गमन नर्वेजियन खेलाडीहरूका लागि सधैँ ‘अधुरो सपना’जस्तै बनेर रह्यो। तर, अहिले समयले कोल्टे फेरेको छ। अहिले अमेरिकी भूमिमै नर्वेले फेरि विश्वकप खेल्दैछ। यो विश्वकपमा नर्वे समूह ‘आई’मा परेको छ र नर्वेले आफ्नो पहिलो खेलमा इराकलाई ४–१ र दोस्रो खेलमा सेनेगललाई ३–२ गोलले हराइसकेको छ। नर्वेले नकआउट चरणमा स्थान पनि पक्का गरिसकेको छ।

यो विश्वकपमा जब नर्वेजियन टोली इराकविरुद्ध मैदानमा ओर्लियो, त्यतिबेला दर्शकदीर्घामा रहेका पूर्व खेलाडीहरूका आँखाहरू रसाएर आए। त्यो क्षणले उनीहरूलाई निकै भावुक बनायो। यसपटक इराकविरुद्ध नर्वेजियन टोलीबाट अर्लिङ हालान्ड, अलेक्जेन्डर सोर्लोथ र क्रिस्टियन थोर्सभेट पनि मैदानमा ओर्लिएका थिए। यो कथा यिनै तीनजना खेलाडीसँग जोडिएको छ।
अर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्ड, अलेक्जेन्डर सोर्लोथका बुबा गोरान सोर्लोथ र क्रिस्टियन थोर्सभेटका बुबा एरिक थोर्सभेट हुन्। हाल विश्वकप खेलिरहेका यी तीनैजना खेलाडीका बुबाहरू सन् १९९४ को विश्वकपमा नर्वेजियन टोलीका महत्त्वपूर्ण खेलाडी थिए। त्यो विश्वकपमा अल्फ–इन्गे हालान्ड डिफेन्डर, गोरान सोर्लोथ फरवार्ड र एरिक थोर्सभेट गोलरक्षकको भूमिकामा थिए। ३२ वर्षअघि जुन माटोमा उनीहरूले आफ्नो सपना अधुरै छाडेका थिए, आज तिनैका छोराहरू त्यही माटोमा त्यसलाई पूर्णता दिन संघर्ष गरिरहेका छन्।
पूर्वगोलरक्षक एरिक थोर्सभेट भन्छन्— ‘छोराले मैदानमा राम्रो प्रदर्शन गर्दा बुबाको नाताले गर्व महसुस हुन्छ। तर, हामीले हाम्रा छोराहरूमाथि आफ्नो अधुरो सपनाको भारी कहिल्यै बोकाएनौँ।’ नर्वेको खेलकुद संस्कृति नै यस्तो छ जहाँ बालबालिकालाई सानै उमेरमा कुनै एक खेलमा मात्र लाग्न दबाब दिइँदैन। फरवार्ड अलेक्जेन्डर सोर्लोथले सानोमा ह्यान्डबल र स्पिड स्केटिङ पनि गर्थे। क्रिस्टियन थोर्सभेटले त एक समय फुटबल छाडेर अमेरिकामा पढ्ने योजनासमेत बनाएका थिए। तर, अन्तिम घडीमा उनले व्यावसायिक फुटबलको बाटो रोजे। एरिक थप्छन्— ‘जीवनका केही यस्ता क्षण हुन्छन् जसले हाम्रो भविष्य कोर्छ, यो तिनैमध्येको एउटा हो।’

सन् १९९८ पछि नर्वे लामो समय विश्वकपमा छनोट नै हुन सकेन। तर, अहिले अर्लिङ हालान्ड युगको उदयले नर्वेलाई प्रतियोगिताको ‘डार्क हर्स’को रूपमा हेर्न थालिएको छ। म्यानचेस्टर सिटीमा गोलको वर्षा गरिरहेका हालान्डले नर्वेका लागि पनि उस्तै लय समातेका छन्। पूर्वखेलाडीहरूका अनुसार, नर्वेका लागि उनको गोल गर्ने क्षमता ‘अविश्वासिलो’ छ। उनले इराक र सेनेगलविरुद्ध दुई–दुई गोल गरिसकेका छन्।
सन् १९९४ को विश्वकपमा सँगै ड्रेसिङ रुम सेयर गरेका ती पुराना साथीहरू आज फरक भूमिकामा छन्। कसैका लागि छोराको प्रदर्शन हेर्दाको खुसी छ भने कसैका लागि पेनाल्टी एरियामा हुने गल्तीको डर। तर, उनीहरू सबैको सपना एउटै छ— ‘आफ्नो देशले विश्वकपमा अब्बल प्रदर्शन गरेको हेर्ने।’
फुटबलको यो लामो यात्राले धेरै कुरा देखाइसकेको छ। अहिले यी छोराहरू विश्वकपको मञ्चमा आफ्नो बलियो छाप छोड्न लागिपरेका छन्। अनि, भविष्यमा सायद यिनै खेलाडीहरू आफ्ना मैदानमा आफ्ना छोरा–नातीको खेल हेर्न ‘हजुरबुबा’को भूमिकामा दर्शकदीर्घामा देखा पर्लान्।
खेलको मैदानमा देखिएको यो अनुपम पुस्तान्तरणको कथाले फेरि एकपटक प्रमाणित गरेको छ कि— फुटबल केवल ९० मिनेटको खेल मात्र होइन, यो त पुस्तादेखि पुस्तासम्म रगतमा बगिरहने एउटा अद्भुत ‘लेगेसी’ र भावना पनि हो।