काठमाडौंको बालाजु–नेपालटार क्षेत्रमा श्रृंखलाबद्ध चोरी तथा लुटपाटमा संलग्न दिदी–भाइसहितको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको लत धान्न घर फोडेर चोरी गर्ने, चोरीको सुनलाई दिदीमार्फत प्रेमी र सुन पसलेको सहयोगमा नयाँ गहनामा रूपान्तरण गर्ने योजनाबद्ध सञ्जालमा पाँचजना संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
पक्राउ पर्नेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–९, थलरी घर भएका दीपेश मगर, उनकी दिदी दीपा मगर, दीपाका प्रेमी करण, सुन पसले कृष्णप्रसाद गहतराज र सहयोगी किशोर थापा रहेका छन् ।
प्रहरीका अनुसार गिरोहले बालाजु, तारकेश्वर र आसपासका क्षेत्रमा कम्तीमा चारवटा घरमा चोरी गरेको देखिएको छ ।
अनुसन्धानअनुसार दीपेशले राति घर फोडेर सुन तथा नगद चोरी गर्ने गर्थे ।
चोरीका गहना भने उनले सिधै बजारमा बिक्री नगरी आफ्नी दिदी दीपालाई बुझाउने गरेका थिए ।
दीपा र उनका प्रेमी करणले ती गहना टोखा नगरपालिका–८, बाँनियाटारस्थित ‘सोयान्जा सुनचाँदी पसल’मा लगेर पुराना गहना गलाएर नयाँ बनाउन लगाउने गरेको खुलेको छ ।
प्रहरीका अनुसार उनीहरूले सुन पसलेलाई विवाहको तयारी भइरहेको, पुराना गहना गलाएर नयाँ बनाउनुपर्ने वा विदेशबाट आमा आउने भएकाले पुराना गहना बेचेर नयाँ बनाउन लागेको जस्ता कथा सुनाउँदै चोरीको सुनलाई वैध देखिने गहनामा रूपान्तरण गरिरहेका थिए । त्यसरी सिक्री, मंगलसूत्र, नौगेडी, छड्के तिलहरी र ब्रेसलेट बनाइने गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार सुन पसलका सञ्चालक कृष्णप्रसाद गहतराजले शुरूमा उनीहरूको कथा पत्याएर कमिसन लिएर गहना बनाइदिएको बताएका छन् ।
तर, पछि सुन चोरीको भएको थाहा पाएपछि पनि धन्दा नरोकिएको प्रारम्भिक बयानमा स्वीकार गरेका छन् । प्रहरीका अनुसार उनले त्यही सुनबाट आएको केही रकम आफ्नी श्रीमतीको उपचारमा खर्च गरेको पनि बताएका छन् ।
हालसम्म उनले कम्तीमा ६ पटक चोरीको सुन गालेर नयाँ गहना बनाएको खुलेको छ ।
घटनामा इन्ड्राइभ चालक किशोर थापाको पनि संलग्नता देखिएको छ । प्रहरीका अनुसार दीपेशसँग पुरानो चिनजान रहेका किशोरले बिल नभएको सुन बिक्री गरिदिने प्रस्ताव स्वीकार गर्दै कमिसनको लोभमा सुन भरतपुरसम्म पुर्याएका थिए ।
उक्त सुन भरतपुरस्थित अंकित ढकालले सञ्चालन गरेको पसलमा बिक्री गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले गिरोहले बालाजु लामबगरका शंकर श्रेष्ठ, तारकेश्वरकी रेनुका राई, भेटघाट चोकका समीक्षा खतिवडा र राजकुमार खड्काको घरमा चोरी गरेको आरोप लगाएको छ ।
त्यस्तै बालाजु अष्टनारायण हलनजिकै बस्ने निर्मला कुमालको घरमा चोरीका क्रममा दीपेशले खुकुरी देखाएर धम्क्याएको पनि खुलेको छ । प्रहरीका अनुसार उनले ‘चिच्याइस् भने काटिदिन्छु’ भन्दै ज्यान मार्ने धम्की दिएका थिए ।
प्रहरीले विभिन्न स्थानका सीसीटीभी फुटेज संकलन गर्ने क्रममा एउटा फुटेजमा दीपेशको अनुहार स्पष्ट देखिएपछि अनुसन्धान अघि बढाएको थियो ।
सोही आधारमा दीपेश पक्राउ परेपछि घटनाका अन्य कडी खुल्दै गएको र त्यसपछि दिदी दीपा, उनका प्रेमी करण, सुन पसले गहतराज तथा सहयोगी किशोर थापासमेत पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार यो घटनाले लागूऔषधको लत, पारिवारिक विखण्डन र चोरीका सामानलाई वैध बनाइदिने अवैध सञ्जालबीचको सम्बन्ध उजागर गरेको छ ।
पक्राउ परेकामाथि चोरी, आपराधिक विश्वासघात तथा संगठित अपराधसँग सम्बन्धित कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।
हेर्नुहोस्, भिडियो: