
फिफा विश्वकप २०२६ को अन्तिम १६ को पहिलो रोमाञ्चक खेलमा मोरक्कोले क्यानडाविरुद्ध १-० कोअग्रता लिएको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको केही मिनेटमै मोरक्कोले खेललाई आफ्नो पक्षमा पारेको हो।
खेलको ५० औं मिनेटमा अजेदिन उनाहीले उत्कृष्ट गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए। उनलाई यो गोलका लागि टोलीका स्टार डिफेन्डर अचरफ हाकिमीले सुन्दर पास उपलब्ध गराएका थिए। पहिलो हाफमा निकै संघर्ष गरिरहेको देखिएको मोरक्कोले दोस्रो हाफमा आक्रामक रणनीति अपनाउँदै क्यानडाको रक्षापंक्तिलाई तोड्न सफल भयो।
यसअघि ह्युस्टन स्टेडियममा भएको पहिलो हाफ निकै तनावपूर्ण र कार्डले भरिएको थियो। रेफ्री माइकल ओलिभरले पहिलो हाफमै ६ वटा पहेँलो कार्ड देखाएका थिए, जुन विश्वकप नकआउट चरणको इतिहासमा दुर्लभ घटना हो।
खेलको ४१ औं मिनेटमा हाकिमी र क्यानडाका रिची लर्याबीच मैदानमै भनाभन र धक्काधक्की भएपछि तनाव उत्कर्षमा पुगेको थियो, जसका कारण दुवै खेलाडीले चेतावनी (पहेँलो कार्ड) पाएका थिए।
अहिले मोरक्कोले गोलको अग्रता जोगाउँदै खेलमा नियन्त्रण बनाउने प्रयास गरिरहेको छ भने क्यानडा बराबरी गोलको खोजीमा आक्रामक देखिएको छ। यस खेलको विजेताले क्वार्टरफाइनलमा पाराग्वे वा फ्रान्समध्ये एक टोलीको सामना गर्नेछ।