१० साउन २०८३, आइतबार

लुम्बिनीमा ८९ प्रतिशत मात्रै रोपाइँ

साउन ९, २०८३
बुटवल
लुम्बिनीमा ८९ प्रतिशत मात्रै रोपाइँ

लुम्बिनीमा साउन दोस्रो साता लाग्दासम्म ८९ प्रतिशत रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा अझै ११ प्रतिशत रोपाइँ गर्न बाँकी छ । कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेले असार दोस्रो सातापछि पानी परेपछि रोपाइँ तीव्र भएको बताए ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल ६ लाख ७९ हजार ६१३ हेक्टर खेतीयोग्य जमिन छ । जसमा ३ लाख एक हजार ३७२ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार लुम्बिनीमा धान खेती हुँदै आएको जमिनमध्ये ८८.९९ प्रतिशत अर्थात् दुई लाख ६८ हजार १९७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । समयमै वर्षा भएको भए हालसम्म ९५ प्रतिशत भन्दा धेरै रोपाइँ भइसक्ने गैरेले बताए ।

निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रोल्पा र रुकुम (पूर्व)मा धान रोपाइँ शतप्रतिशत भएको छ । रोल्पामा ३ हजार ७३ हेक्टर र लुम्बिनी प्रदेशको एउटा मात्रै हिमाली जिल्ला रुकुम पूर्वमा ३५४ हेक्टरमा मात्रै धान खेती लगाइन्छ ।

सबैभन्दा कम कपिलवस्तुमा ६६ हजार २६५ हेक्टर मध्ये ७७.५ प्रतिशत अर्थात् ५१ हजार ३२२ हेक्टरमा धान रोपाइँ भएको छ ।

यस्तैगरी, रूपन्देहीमा धान खेती हुने कुल ६३ हजार ५५० हेक्टर मध्ये ९८ प्रतिशत अर्थात् ६२ हजार २७९ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

नवलपरासीमा २० हजार ८८७ हेक्टरमध्ये ९८.५ प्रतिशत अर्थात् २० हजार ५७४ हेक्टरमा, पाल्पामा ७ हजार २८७ मध्ये ९३ प्रतिशत अर्थात् ६ हजार ७७७ हेक्टरमा, गुल्मीमा ६ हजार ५४१ मध्ये ८४ प्रतिशत अर्थात् ५ हजार ४९४ हेक्टर र अर्घाखाँचीमा ६ हजार ७६० मध्ये ८८ प्रतिशत अर्थात् ५ हजार ९४९ हेक्टरमा मा रोपाइँ सम्पन्न भएको छ ।

null

यस्तैगरी, दाङमा ३६ हजार २ सय मध्ये ८० प्रतिशत अर्थात् २८ हजार ९६० हेक्टरमा, बाँकेमा ३३ हजार ७८० मध्ये ८४ प्रतिशत अर्थात् २८ हजार ३७५ हेक्टरमा, प्युठानमा ६ हजार ५२५ मध्ये ९८ प्रतिशत अर्थात् ६ हजार ३९५ हेक्टरमा र बर्दियामा ५० हजार १५० मध्ये ९७ प्रतिशत अर्थात् ४८ हजार ६४६ हेक्टरमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

प्रतिकूल मौसमका बीच पनि धान उत्पादन बढाउन र आत्मनिर्भरता हासिल गर्न जलवायु उत्थानशील जातका बिउ र नयाँ प्रविधिको प्रयोगलाई व्यापक बनाउनुपर्ने आवश्यकता देखिएको कृषिविज्ञहरू बताउँछन् ।

धान उत्पादन वृद्धि गर्न प्रदेश सरकारले खेतियोग्य जमिनको सदुपयोग, सिँचाइ सुविधा विस्तार तथा समयमै गुणस्तरीय बिउ र मल उपलब्ध, यान्त्रीकरण, चैते धान प्रवर्द्धन, बजारीकरण, रैथाने जातको संरक्षणलगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

प्रदेशमा हाल सावित्री, सामा मन्सुली, हर्दिनाथ ६, राधा ४, सुक्खा धान १ र २, गंगासागर १ र २, खुमल बासमती लगायतका उन्नत जातहरूको खेती भइरहेको छ ।

साथै, किसानले तिल्की, सिम्थारो, कालानमक, हंशराज, झिनुवा, मनसरा जस्ता परम्परागत बिउको पनि खेती गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्