
पशुपतिनाथ र बौद्धनाथ मन्दिर परिसरमा भीडको मौका छोपेर दर्शनार्थीका सुनका गरगहना लुट्ने गरेको आरोपमा सात भारतीय महिला पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनीहरू भारतको गोरखपुरबाट योजनाबद्ध रूपमा नेपाल आएर धार्मिक स्थलमा दर्शनार्थीलाई निशाना बनाइरहेका थिए ।
पक्राउ पर्नेमा भारतको गोरखपुरका अञ्जु चमार, रिङ्कु चमार, नन्दनी चमार, आरती चमार, रुप्सना चमार भन्ने पूजा देवी, रञ्जित चौधरी र शान्ति चमार रहेका छन् ।
प्रहरी अनुसन्धानअनुसार यो समूहको नेतृत्व रुप्सना चमार भन्ने पूजा देवीले गर्थिन् । समूहका सदस्यले उनको संकेत पाएपछि मात्रै ‘अपरेसन’ शुरू गर्ने गरेको बयान दिएका छन् ।
गत जेठ २६ गते गौशालास्थित पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाइनमा बसेकी आशा राईलाई भीडभाडमा धकेलाधकेल गर्दै घाँटीमा लगाएको करिब तीन तोलाको सुनको सिक्री लुटिएको थियो ।
राईको सूचनापछि प्रहरी वृत्त गौशालाको टोलीले सीसीटीभी फुटेज विश्लेषण गर्दै सातै जनालाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा सोही दिन पशुपति दर्शन गर्न आएका अरविन ज्योतिचन चौहानको करिब चार तोलाको सुनको सिक्री पनि यही समूहले लुटेको खुलेको प्रहरीले जनाएको छ ।
त्यसअघि जेठ २३ गते कुमुद शर्माको करिब डेढ तोलाको सुनको सिक्री र जेठ २२ गते प्रजिना दाहालकी आमा भावनाको एक तोला १७ लाल सुनको सिक्री पनि यही समूहले लुटेको आरोप छ ।
जेठ ११ गते बौद्धनाथ मन्दिरमा छोरीसँग दर्शन तथा बत्ती बाल्न पुगेकी सपना गुरुङलाई समेत भीडभाडमा घेरा हालेर दाहिने हातमा लगाएको सुनको चुरा लुटिएको थियो । उक्त घटना त्यहाँ जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको प्रहरीले जनाएको छ ।
धादिङमा पाल टाँगे, त्यसपछि काठमाडौंमा ‘टार्गेट’ बनाए पशुपति
प्रहरीका अनुसार पक्राउ परेका महिलाहरू डाँका, चोरी तथा लुटपाट गर्ने उद्देश्यले भारतको गोरखपुरबाट नेपाल आएका थिए ।
शुरूमा उनीहरू धादिङको नौबिसेमा खोलाको किनारमा पाल टाँगेर बसेका थिए । त्यसपछि भीडभाड धेरै हुने पशुपतिनाथ मन्दिर क्षेत्रमा अपराध गर्न सहज हुने निष्कर्षसहित काठमाडौं आएको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकी अञ्जु चमारको बयानअनुसार कुनै पनि घटना गराउनुअघि सबै सदस्यले रुप्सना चमार भन्ने पूजा देवीको संकेत कुर्थे । जेठ २२ गते भावनाको सिक्री लुटेपछि समूह पूजा देवीको डेरामा फर्किएको थियो ।
भोलिपल्ट फेरि पशुपति पुगेर कुमुद शर्माको सिक्री लुटियो । जेठ २६ गते अर्को घटना गरिरहेकै बेला प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लियो ।
भारतमा बिक्री हुन्थ्यो चोरीको सुन
प्रहरीका अनुसार लुटिएका सुनका गरगहना पूजा देवीका श्रीमानलाई बुझाउने र उनले भारतमा बिक्री गरेपछि आएको रकम समूहका सदस्यबीच बाँड्ने गरिएको अञ्जु चमारले बयान दिएकी छन् ।
उनले आफूहरू यसअघि पनि काठमाडौं उपत्यकाका सार्वजनिक बस र भीडभाड हुने क्षेत्रमा चोरी तथा लुटपाटमा संलग्न हुँदै आएको बयान दिएको प्रहरीले जनाएको छ ।
बयानका क्रममा उनले आफूले कतिपटक चोरी गरेको भन्ने यकिन गर्न नसक्ने समेत बताएकी छन् ।
प्रहरीका अनुसार पक्राउ परेका अन्य ६ जनाले पनि रुप्सना चमार भन्ने पूजा देवी नै समूहको ‘मास्टरमाइन्ड’ रहेको बयान दिएका छन् ।
अनुसन्धानबाट रुप्सना विगत करिब आठ वर्षदेखि परिवारसहित भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मा डेरामा बस्दै आएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।