
फिफा विश्वकप २०२६ को पहिलो क्वाटरफाइनल खेल आज राति खेलिँदै छ, जहाँ साविक उपविजेता किलियन एम्बाप्पेको फ्रान्सले 'जायन्ट किलर्स'को पहिचान बनाएको मोरक्कोको सामना गर्नेछ ।
बोस्टन स्टेडियममा नेपाली समयअनुसार आज राति १:४५ बजेदेखि शुरू हुने खेलमा फुटबलप्रेमीहरूको नजर विशेष गरी फ्रान्सेली स्टार फरवार्ड किलियन एम्बाप्पेमाथि रहनेछ।
चालू विश्वकपमा ७ गोल गरिसकेका एम्बाप्पेका लागि यो खेल गोल्डेन बुटको दौडमा अगाडि बढ्ने सुनौलो मौका हो । हाल अर्जेन्टिनाका कप्तान लियोनेल मेसी ८ गोलसहित दौडको शीर्ष स्थानमा छन् । यदि आजको खेलमा एम्बाप्पेले गोल गर्न सकेमा उनी गोल संख्यामा मेसीको बराबरी गर्नेछन् भने असिस्टको सङ्ख्या (एम्बाप्पेको २ र मेसीको १ असिस्ट) का आधारमा मेसीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लनेछन्।
फ्रान्स र मोरक्कोबिच हालसम्म कुल ६ वटा अन्तर्राष्ट्रिय खेलहरू भएका छन्, जसमा फ्रान्सको एकतर्फी दबदबा देखिन्छ । फ्रान्सले ४ खेलमा जित दर्ता गरेको छ भने मोरक्कोले मात्र १ खेल जितेको छ र १ खेल बराबरीमा सकिएको छ ।
फिफा विश्वकपको इतिहासमा भने यी दुई टोली दोस्रो पटक आमने-सामने हुन लागेका हुन् । यसअघि सन् २०२२ को विश्वकप सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । मोरक्को आजको खेल जितेर सोही ऐतिहासिक हारको बदला लिँदै सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
फ्रान्सेली टोली प्रतियोगितामा अहिलेसम्म शतप्रतिशत जित निकाल्दै अजेय रहेको छ । उसले आफ्ना सबै ५ खेलमा स्पष्ट जित हात पारेको छ । समूह चरणमा फ्रान्सले नर्वेलाई ४–१, इराकलाई ३–० र सेनेगललाई ३–१ ले पराजित गरेको थियो ।
त्यसपछि राउन्ड अफ ३२ मा स्वीडेनलाई ३–० को सहज नतिजाले पाखा लगाएको फ्रान्सले प्रिक्वाटरफाइनल (राउन्ड अफ १६) मा पाराग्वेमाथि १–० को कठिन तर महत्त्वपूर्ण जित निकाल्दै अन्तिम आठको टिकट काटेको हो ।
मोरक्कोको टोली पनि यस विश्वकपमा अहिलेसम्म कुनै पनि खेलमा पराजित भएको छैन । समूह चरणमा उसले हैतीलाई ४–२ र स्कटल्यान्डलाई १–० ले हराएको थियो भने बलियो दाबेदार ब्राजिललाई १–१ को बराबरीमा रोक्न सफल भएको थियो ।
राउन्ड अफ ३२ मा मोरक्कोको सामना नेदरल्यान्ड्ससँग भएको थियो, जहाँ निर्धारित समयसम्म १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा मोरक्कोले ३–२ को रोमान्चक जित निकाल्यो। त्यसपछि राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले स्तब्ध पार्दै मोरक्कोले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
आजको खेल मुख्य रूपमा फ्रान्सको धारिलो आक्रमण र मोरक्कोको बलियो डिफेन्सबिचको लडाइँ हुने अनुमान गरिएको छ । फ्रान्सेली टोली आफ्ना मुख्य हतियार एम्बाप्पेबाट आक्रामक फिनिसिङको अपेक्षामा रहनेछ र मोरक्कोको रक्षापङ्क्ति तोड्ने मुख्य जिम्मेवारी उनकै काँधमा हुनेछ ।
अर्कोतर्फ, मोरक्को आफ्ना स्टार डिफेन्डर तथा कप्तान अचराफ हकिमीको कप्तानीमा फ्रान्सको बलियो आक्रमणलाई रोक्न मैदान उत्रनेछ। पीएसजीमा सँगै खेलिसकेका दुई आत्मीय साथी एम्बाप्पे र हकिमीबिचको यो मैदानको टकराव निकै रोचक हुनेछ । खेलमा फ्रान्सको पल्ला भारी रहने अनुमान गरिए पनि मोरक्कोको अप्रत्याशित लयले खेललाई कडा प्रतिस्पर्धात्मक बनाउने निश्चित छ ।